काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मकवानपुरका चेपाङ समुदायका बालबालिकालाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत हेटौँडा शाखाको पहलमा मकवानपुरको मनहरी गाउँपालिका–४ चिसापानीस्थित श्री चेपाङ प्राथमिक विद्यालयका १३० जना विद्यार्थीलाई ट्र्याकसुट तथा शैक्षिक सामग्री उपलब्ध गराएको हो।
बालबालिकाको शिक्षामा सहयोग पुर्याउने तथा उनीहरूलाई अध्ययनप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले सामग्री वितरण गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका वीरगञ्ज–चितवन सबक्लस्टर प्रमुख रुपक मैनाली, हेटौँडा शाखाका शाखा प्रबन्धक बिनेश कार्कीलगायत बैंकका कर्मचारी तथा विद्यालयका शिक्षकहरूको उपस्थिति थियो।
बैंकले बैंकिङ सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकतामा राख्दै शिक्षा, सामाजिक विकास तथा समुदायको आवश्यकताअनुसार विभिन्न सहयोगमूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
यस प्रकारका कार्यक्रमले चेपाङ समुदायका बालबालिकाको सिकाइमा सहयोग पुग्नुका साथै उनीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।
हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउँदै आगामी दिनमा बैंकिङ सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई समेत निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।