काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २ खर्ब रुपैयाँ खिच्ने भएको छ।
केन्द्रीय बैंकले शुक्रबार २०० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २८ दिन अवधिको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान गरेको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज अपराह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत बोलकबोल पेश गर्न सक्नेछन्।
बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा निक्षेप संकलन गरिनेछ। संकलित रकमको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।
यस उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि १० करोडले भाग जाने रकममा कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने व्यवस्था छ।
राष्ट्र बैंकका अनुसार बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बैंक तथा वित्तीय संस्थालाई पहिलो प्राथमिकता दिइनेछ। समान ब्याजदरमा मागभन्दा बढी बोल परेको अवस्थामा समानुपातिक आधारमा रकम बाँडफाँट गरिनेछ।
उक्त बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्।
स्वीकृत बोलकबोलअनुसारको रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकमा रहेको खाताबाट कट्टा गरी छुट्टै निक्षेप खातामा जम्मा गरिनेछ।
यसरी संकलित निक्षेपलाई सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना गर्न पाइने छैन। तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने वैधानिक तरलता अनुपात (एसएलआर) तथा अन्य सम्बन्धित तरलता अनुपातमा गणना गर्न सकिनेछ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहे पनि त्यसअनुसार कर्जा विस्तार हुन नसक्दा राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारको अतिरिक्त पैसा अस्थायी रूपमा खिच्ने नीति अवलम्बन गर्दै आएको छ।
यसले बजारमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्नुका साथै अल्पकालीन ब्याजदरलाई व्यवस्थित राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।