काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप देखिएको छ। शुक्रबार अनलाइनमार्फत बिक्री खुला गरिएको टिकट केही मिनेटमै सकिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले टिकट खरिदका लागि एकैपटक करिब दुई लाख व्यक्तिले प्रयास गरेको जनाएको छ। टिकटको माग अत्यधिक हुँदा धेरै क्रिकेटप्रेमीले टिकट पाउन नसकेको गुनासो गरेका छन्।
फाइनलको टिकट शुक्रबार दिउँसो १ बजेदेखि बिक्री सुरु हुने सूचना दिइएको थियो। तर निर्धारित समयभन्दा अगाडि नै अनलाइन टिकटिङ प्रणालीमा टिकट सकिएको देखिएपछि दर्शक आक्रोशित बनेका थिए।
कतिपय प्रयोगकर्ताले दिउँसो १२ बजेर ५७ मिनेटमै टिकट 'सोल्ड आउट' देखिएको बताएका छन्। केहीले दिउँसो १ बजेर १ मिनेटमा टिकट खरिद गर्ने प्रयास गर्दासमेत सफल नभएको गुनासो गरेका छन्।
टिकट बिक्री सुरु नहुँदै सकिएको देखिएपछि सामाजिक सञ्जालमा टिकट वितरण प्रणालीको पारदर्शितामाथि प्रश्न उठाइएको छ।
एनपीएलको तेस्रो संस्करणका लागि क्यानले अनलाइन टिकट बिक्रीको जिम्मेवारी इसेवालाई दिएको छ।
फाइनल खेलका लागि साधारणतर्फ एक हजार रुपैयाँ र प्रिमियमतर्फ दुई हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ।
यसअघि पनि एनपीएलका विभिन्न खेलका टिकट बिक्री खुल्नेबित्तिकै सकिने तथा टिकटिङ प्रणालीमा समस्या देखिने गरेको भन्दै दर्शकले असन्तुष्टि जनाउँदै आएका थिए।
फाइनलको टिकट वितरणमा देखिएको समस्याले टिकट व्यवस्थापन र सबै दर्शकलाई समान रूपमा टिकट खरिदको अवसर उपलब्ध गराउने विषयमा थप प्रश्न उठाएको छ।
एनपीएलको तेस्रो संस्करणको उपाधिका लागि शनिबार साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल साँझ ५ बजे सुरु हुने तालिका छ।
लुम्बिनी लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम यसअघिका दुई संस्करणमा उपविजेता बनेपछि यसपटक पहिलो उपाधि जित्ने प्रयासमा हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।