काठमाण्डौ । गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोत व्यवस्थापन तथा फेवाताललगायतका तालहरूको संरक्षणमा संघ र प्रदेश सरकारबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।
शुक्रबार पोखरामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणिन्द्र देवकोटाबीच भएको भेटवार्तामा ऊर्जा तथा सिँचाइ क्षेत्रका आयोजना प्रभावकारी रूपमा अघि बढाउने विषयमा छलफल भएको हो।
भेटमा गण्डकी प्रदेशमा सञ्चालित तथा प्रस्तावित ऊर्जा विकासका आयोजना, जलस्रोतको उपयोग, नदी नियन्त्रण, तटबन्ध निर्माण र सिँचाइ आयोजनालाई संघ तथा प्रदेश सरकारको समन्वयमा अघि बढाउने विषयले प्राथमिकता पाएको थियो।
विशेषगरी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवाताललगायतका तालहरूको संरक्षणका लागि दुवै तहका सरकारबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।
ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको गण्डकी प्रदेशमा विकास भइरहेका ऊर्जा आयोजनालाई निर्धारित समयमै सम्पन्न गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने विषयमा समेत दुवै मन्त्रीले जोड दिएका थिए।
त्यस्तै, जलस्रोतको दिगो व्यवस्थापन, नदी नियन्त्रण तथा सिँचाइका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघ र प्रदेश सरकारबीचको सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिइएको थियो।
भेटवार्ताका क्रममा विकास आयोजनाको प्राथमिकता निर्धारण, कार्यान्वयनमा देखिएका समस्या समाधान तथा उपलब्ध स्रोतसाधनको प्रभावकारी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ।
ऊर्जा तथा जलस्रोत क्षेत्रका विकास निर्माणका कामलाई गति दिन संघ र प्रदेशबीच नियमित समन्वय र सहकार्य आवश्यक रहेको विषयमा दुवै मन्त्रीले जोड दिएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।