काठमाण्डौ । भोटेकोशीमा आएको विनाशकारी बाढीले बगाएका सवारीसाधनको भौतिक अवशेषसमेत फेला नपरेपछि बीमा दाबी भुक्तानीमा जटिलता देखिएको छ। बाढीबाट ठूलो संख्यामा सवारीसाधन नष्ट भए पनि कतिपयको बीमा नभएको र बीमा भएका सवारीको समेत अवशेष फेला नपर्दा व्यवसायीहरू समस्यामा परेका हुन्।
गत भदौ १० गते आएको रसुवा–भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको अध्ययन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदनमा यस्तो समस्या औँल्याइएको छ।
समितिका अनुसार बाढीबाट क्षतिग्रस्त सवारीसाधनतर्फ हालसम्म एक अर्ब ४० करोड ७३ लाख रुपैयाँ बराबरको क्षति मूल्यांकन भएको छ। अझै २५ वटा सवारीसाधनको क्षति मूल्यांकन हुन बाँकी रहेकाले वास्तविक क्षति थप बढ्न सक्ने देखिएको छ।
प्रतिवेदनमा बाढीका कारण यातायातसँग सम्बन्धित ७८२ जना मानवीय क्षतिको विवरणसमेत उल्लेख छ।
३४४ कन्टेनर बाढीमा बेपत्ता, १७ वटाको मूल्यांकन बाँकी
बाढीबाट सबैभन्दा ठूलो क्षति मालवाहक सवारीसाधनमा भएको देखिएको छ।
समितिको विस्तृत विवरणअनुसार बाढीमा ३४४ वटा कन्टेनर बेपत्ता भएका छन्। तीमध्ये ३२७ वटा कन्टेनरको मात्रै क्षति मूल्यांकन सम्पन्न भएको छ।
मूल्यांकन भएका कन्टेनरमा मात्रै एक अर्ब १६ करोड २२ लाख १९ हजार ८७८ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
बाँकी १७ कन्टेनरको क्षति मूल्यांकन हुन सकेको छैन। त्यसैगरी तीनवटा टिपर र पाँचवटा जिप, भ्यान तथा टाटा सुमोको समेत मूल्यांकन हुन बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
बाढीबाट क्षतिग्रस्त सवारीसाधनको प्रकृतिअनुसार न्यूनतम दुई लाखदेखि अधिकतम ९० लाख रुपैयाँसम्म क्षति मूल्यांकन गरिएको छ।
पर्यटक बसमा अधिकतम ९० लाख रुपैयाँसम्म र कन्टेनर तथा ट्रकमा १६ लाखदेखि ७० लाख रुपैयाँसम्मको क्षति भएको अनुमान छ।
गाडी नै नभेटिएपछि बीमा दाबीमा समस्या
बाढीले बगाएका अधिकांश सवारीसाधनको बीमा भए पनि भौतिक अवशेष फेला नपर्दा दाबी भुक्तानीको प्रक्रिया जटिल बनेको समितिले जनाएको छ।
सामान्यतया क्षतिग्रस्त सवारीको अवस्था र क्षतिको परिमाण मूल्यांकन गरी बीमा दाबी प्रक्रिया अघि बढाइन्छ। तर, भोटेकोशी बाढीमा सवारीसाधन नै बेपत्ता भएपछि क्षति पुष्टि गर्ने प्रक्रियामा समस्या देखिएको हो।
समितिले यस्तो अवस्थामा प्रहरी प्रतिवेदन र यातायात व्यवस्था कार्यालयको अभिलेखलाई प्रमाणका रूपमा स्वीकार गरी बेपत्ता सवारीलाई पूर्ण क्षति भएको मानेर बीमा दाबी भुक्तानी गर्न सुझाव दिएको छ।
बीमा भएका सवारीसाधनको हकमा सम्बन्धित बीमालेख तथा सर्तअनुसार बीमांक रकम भुक्तानी गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
समितिले यातायात कार्यालयको दर्ता अभिलेख, प्रहरी मुचुल्का, स्थलगत विवरण, सम्बन्धित सरकारी निकायका प्रतिवेदन तथा बीमा कम्पनीबाट भएका क्षति मूल्यांकनलाई आधार बनाएर क्षतिको विवरण प्रमाणीकरण गरेको जनाएको छ।
बीमा नभएका सवारीलाई सरकारी राहत दिन सिफारिस
बाढीबाट क्षतिग्रस्त कतिपय सवारीसाधनको बीमा नै नभएको र केही टिपरमा तेस्रो पक्ष बीमा मात्रै रहेको पाइएको छ।
यस्ता सवारीका धनीले सवारीसाधनमा भएको क्षतिको बीमा दाबी प्राप्त गर्न नसक्ने अवस्था रहेकाले सरकारले विशेष राहत उपलब्ध गराउनुपर्ने समितिको सुझाव छ।
प्रतिवेदनमा सवारीसाधनको निर्माण वर्ष, हालको बजार मूल्य र क्षतिको अवस्थाका आधारमा मूल्यांकन गरी विपद् व्यवस्थापन कोषमार्फत राहत प्याकेज उपलब्ध गराउन सिफारिस गरिएको छ।
यसबाट बीमा नभएका तथा तेस्रो पक्ष बीमा मात्रै भएका सवारीका धनीलाई समेत केही आर्थिक राहत दिन सकिने समितिको निष्कर्ष छ।
गाडी बग्यो, बैंकको ऋण बाँकी
बाढीबाट क्षतिग्रस्त भएका धेरै सवारीसाधन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर खरिद गरिएको पाइएको छ।
सवारीसाधन पूर्ण रूपमा नष्ट वा बेपत्ता भए पनि व्यवसायीको बैंक कर्जा भने बाँकी रहेकाले उनीहरूमाथि थप आर्थिक दबाब सिर्जना भएको छ।
बीमा दाबी भुक्तानी समयमै नहुँदा व्यवसायीलाई बैंकको नियमित किस्ता र ब्याज तिर्न कठिनाइ भइरहेको प्रतिवेदनमा औँल्याइएको छ।
समितिले यस्तो समस्याको समाधानका लागि बीमा दाबी भुक्तानी नभएसम्मको अवधिको ब्याज तथा हर्जाना मिनाहा गर्न र प्रभावित व्यवसायीको कर्जा पुनर्संरचना गर्न सिफारिस गरेको छ।
यो सिफारिस कार्यान्वयन भएमा बाढीबाट व्यवसाय गुमाएका यातायात व्यवसायीलाई केही आर्थिक राहत पुग्न सक्नेछ।
मृतकका परिवारलाई कम्तीमा पाँच लाख राहत दिन माग
समितिले बाढीमा ज्यान गुमाएका चालक, सहचालक, यातायात मजदुर तथा यात्रुका परिवारलाई राहत उपलब्ध गराउन पनि सिफारिस गरेको छ।
प्रतिवेदनअनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति कम्तीमा पाँच लाख रुपैयाँ आकस्मिक राहत उपलब्ध गराउनुपर्नेछ।
बेपत्ता भएका चालक, सहचालक तथा यात्रुको हकमा पनि प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन र सरकारी विपद् राहत मापदण्डअनुसार आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सुझाव दिइएको छ।
प्रतिवेदन कार्यान्वयन नै मुख्य चुनौती
समितिले बाढीबाट भएको क्षति र पीडितको अवस्था अध्ययन गरी बीमा दाबी भुक्तानी, सरकारी राहत, कर्जा पुनर्संरचना तथा मृतकका परिवारलाई क्षतिपूर्तिसम्बन्धी सुझाव सरकारलाई बुझाएको छ।
तर, यी सुझाव कार्यान्वयन गर्ने अन्तिम निर्णय भइसकेको छैन।
विशेषगरी भौतिक अवशेष नभेटिएका सवारीलाई पूर्ण क्षति मानेर बीमा भुक्तानी गर्ने विषयमा सम्बन्धित बीमा कम्पनी र नियामक निकायको भूमिका महत्त्वपूर्ण हुनेछ।
त्यस्तै, बीमा नभएका सवारीसाधनलाई सरकारी राहत र बैंक ऋणमा सहुलियत उपलब्ध गराउने विषयमा पनि नीतिगत निर्णय आवश्यक पर्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।