काठमाण्डौ । सरकारले स्रोत अभाव देखाउँदै खारेज गरेको निर्यातमूलक उद्योगलाई नगद अनुदान दिने कार्यक्रम पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहको पहलमा उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनका लागि उद्योगहरूलाई १० प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराउने योजना अघि बढाइएको हो।
यसअघि चुनावी सरकारले बजेट अभावको कारण देखाउँदै निर्यातमा दिँदै आएको ८ प्रतिशतसम्मको नगद अनुदान कार्यक्रम गत वर्ष असोजमा खारेज गरेको थियो।
तर, वर्तमान सरकारले उक्त कार्यक्रमलाई नयाँ स्वरूपमा ब्युँताउँदै उत्पादनमा आधारित प्रोत्साहन उपलब्ध गराउने तयारी गरेको छ।
यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ तयार पारेको छ।
उत्पादन १० प्रतिशत बढाउनुपर्ने, भारतबाहेकका मुलुकमा निर्यात अनिवार्य
प्रस्तावित व्यवस्थाअनुसार प्रोत्साहन रकम प्राप्त गर्न उद्योगहरूले निश्चित सर्त पूरा गर्नुपर्नेछ।
यसअन्तर्गत उद्योगले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो उत्पादन कम्तीमा १० प्रतिशत वृद्धि गरेको हुनुपर्नेछ।
त्यस्तै, उत्पादित वस्तु भारतबाहेकका तेस्रो मुलुकमा निर्यात गरिएको हुनुपर्ने सर्त राखिएको छ।
अर्थात्, भारतमा मात्रै सामान निर्यात गर्ने उद्योगले यो प्रोत्साहन प्राप्त गर्ने छैनन्।
प्रोत्साहन रकम उद्योग विभागमार्फत वितरण गरिने व्यवस्था कार्यविधिमा उल्लेख छ।
कुनै उद्योग वा निर्यातकर्ताले एक आर्थिक वर्षमा एकभन्दा बढी वस्तुका लागि भने प्रोत्साहन रकम लिन पाउने छैनन्।
चिया, अलैंचीदेखि चाउचाउ र बिस्कुटसम्मलाई प्रोत्साहन
नयाँ कार्यक्रमले कृषि, खाद्य प्रशोधन, हस्तकला, कपडा तथा अन्य उत्पादनमूलक उद्योगलाई समेटेको छ।
कार्यविधिअनुसार प्रशोधित चिया, कफी, अलैंची, अदुवा, बेसार, मसला, तरकारी, फलफूल, च्याउ तथा तिनका प्रशोधित उत्पादन प्रोत्साहन कार्यक्रमको दायरामा पर्नेछन्।
त्यस्तै, मह, दूध तथा दुग्धजन्य पदार्थ, पुष्प तथा प्रशोधित पुष्पजन्य सामग्री, वाइन, साइडर र स्प्रिङ वाटर उत्पादन गर्ने उद्योग पनि कार्यक्रममा समावेश छन्।
खाद्य प्रशोधन उद्योगतर्फ चाउचाउ, बिस्कुट, पास्ता, चिजबल्सलगायतका उत्पादनलाई समेत प्रोत्साहन दिने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त प्राङ्गारिक मल, कपास तथा कपासको बिउ उत्पादन एवं प्रशोधन, बाँस, बेत, अल्लो तथा प्राकृतिक रेशाजन्य उत्पादनलाई पनि प्रोत्साहनको दायरामा राखिएको छ।
गलैँचा, पस्मिना र तयारी पोशाक उद्योगलाई पनि अवसर
नेपालबाट निर्यात हुने परम्परागत तथा उच्च मूल्यका वस्तुलाई पनि नयाँ कार्यक्रमले समेटेको छ।
कार्यविधिमा ऊनी गलैँचा, पस्मिना, यार्न, टेक्स्टायल, फेल्ट, तयारी पोशाक, जुत्ताचप्पल तथा छालाजन्य उत्पादनलाई प्रोत्साहन उपलब्ध गराउने व्यवस्था छ।
त्यस्तै, फर्निचर, पार्केटिङ, प्लाइउड, कम्पोजिट बोर्ड, हस्तकला, काष्ठकला, लोक्ताबाट बनेको नेपाली हाते कागज तथा अन्य कागजजन्य उत्पादनलाई पनि समावेश गरिएको छ।
प्रशोधित जडीबुटी, सारयुक्त तेल, आयुर्वेदिक औषधि, प्रशोधित पत्थर तथा पत्थरजडित गरगहनासमेत प्रोत्साहन प्राप्त गर्न सक्ने वस्तुको सूचीमा छन्।
निर्यात बढाउने सरकारी प्रयास
सरकारले नयाँ कार्यक्रममार्फत स्वदेशी उद्योगलाई उत्पादन बढाउन प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता सुधार गर्ने लक्ष्य लिएको छ।
विशेषगरी भारतबाहेकका मुलुकमा निर्यात बढाउने सर्तले नेपाली उद्योगलाई नयाँ बजार विस्तार गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
यद्यपि, यसअघि स्रोत अभावका कारण खारेज गरिएको कार्यक्रम पुनः सञ्चालन गर्दा आवश्यक बजेटको व्यवस्थापन कसरी गरिने भन्ने विषय महत्त्वपूर्ण देखिएको छ।
उद्योगीहरूले विगतमा निर्यात अनुदानको भुक्तानीमा समस्या भोग्दै आएका कारण नयाँ कार्यक्रमको प्रभावकारिता रकम वितरणको सुनिश्चिततामा समेत निर्भर रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।