काठमाण्डौ । डिजिटल भुक्तानीको क्षेत्रमा विश्वव्यापी अग्रणी कम्पनी भिसाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, आधुनिक र समावेशी बनाउन दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।
भिसाले हालै काठमाण्डौमा आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ २०२६’ मार्फत नेपालको डिजिटल अर्थतन्त्रको विकास र विस्तारमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको हो ।
‘विश्वासः विश्वलाई अगाडि बढाउने शक्ति’ भन्ने मूल नाराका साथ सम्पन्न कन्क्लेभमा नेपालको बैंकिङ तथा वित्तीय क्षेत्र, सरकार, नियामक निकाय र भुक्तानी प्रणालीसँग सम्बन्धित २०० भन्दा बढी नेतृत्वकर्ता तथा सरोकारवालाको सहभागिता थियो ।
कार्यक्रममा डिजिटल भुक्तानी क्षेत्रमा भइरहेको परिवर्तन, उपभोक्ता तथा व्यावसायिक प्रतिष्ठानका बदलिँदा आवश्यकता, वित्तीय सुरक्षा, नवीन प्रविधि र साझेदारीका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिन र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका निर्देशक अजित रेग्मी विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।
त्यसैगरी भिसाका बंगलादेश, नेपाल तथा भुटानका कन्ट्री म्यानेजर सब्बिर अहमद, भिसा नेपालका प्रमुख मनोज थापा र बंगलादेश, नेपाल तथा भुटानका लागि प्रोडक्ट प्रमुख तौफिक इमामको समेत सहभागिता थियो ।
भिसाका कन्ट्री म्यानेजर अहमदले सफल डिजिटल भुक्तानी प्रणालीको प्रमुख आधार विश्वास भएको बताए । नेपाल डिजिटल रुपान्तरणको यात्रामा अगाडि बढिरहेका बेला नवीन प्रविधि, सुरक्षा र प्रभावकारी साझेदारीमार्फत उपभोक्ता तथा व्यवसायका लागि नयाँ अवसर सिर्जना गर्न सकिने उनको भनाइ थियो ।
उनले भिसाको अन्तर्राष्ट्रिय अनुभव, आधुनिक प्रविधि र सशक्त सञ्जाललाई स्थानीय सहकार्यसँग जोड्दै नेपालको डिजिटल भुक्तानी अभियानलाई सफल बनाउन कम्पनी निरन्तर क्रियाशील रहेको बताए ।
बैंक तथा वित्तीय संस्थालाई अवार्ड
कन्क्लेभका क्रममा ‘भिसा बिजनेस एक्सिलेन्स अवार्ड्स’ समेत प्रदान गरिएको थियो । नेपालमा डिजिटल भुक्तानीको विस्तार, नवीन प्रविधिको प्रयोग तथा भुक्तानी प्रणालीको सुदृढीकरणमा योगदान पुर्याउने बैंक, वित्तीय संस्था र साझेदारहरुलाई अवार्ड प्रदान गरिएको हो ।
भिसाले विश्वव्यापी क्षमता र स्थानीय साझेदारीको समन्वयमार्फत नेपालमा सुरक्षित, सहज, पहुँचयोग्य र समावेशी डिजिटल भुक्तानी सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ ।
भिसाले हाल विश्वका २०० भन्दा बढी देश तथा भूभागमा उपभोक्ता, व्यापारी, वित्तीय संस्था र सरकारी निकायबीचको डिजिटल कारोबारलाई सहजीकरण गर्दै आएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।