शुक्रबार, मंसिर ११,२०८३ 01:56:11
  • शुक्रबार, मंसिर ११,२०८३ 01:56:11
Global IME Bank Limited

महावीर पुनले ल्याएको अध्यादेशविरुद्ध नास्टका कर्मचारी आन्दोलित, तत्काल खारेजीको माग

वैज्ञानिक र कर्मचारीको सुझाव बेवास्ता गरिएको आरोप, मन्त्रालयको हस्तक्षेप रोक्न र संस्थाको स्वायत्तता कायम गर्न माग

Bizshala
महावीर पुनले ल्याएको अध्यादेशविरुद्ध नास्टका कर्मचारी आन्दोलित, तत्काल खारेजीको माग
New Office

 

काठमाण्डौ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का कर्मचारीहरू सरकारले ल्याएको नयाँ अध्यादेश तथा नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका छन्।

सरोकारवालासँग पर्याप्त छलफल नगरी संस्थासम्बन्धी कानुनी व्यवस्था परिवर्तन गरिएको भन्दै कर्मचारीहरूले शुक्रबार नास्ट परिसरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी कर्मचारीहरूले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले अध्यादेश ल्याउने प्रक्रियाको नैतिक जिम्मेवारी लिनुपर्ने मागसमेत गरेका छन्।

कर्मचारीहरूका अनुसार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा प्रतिष्ठान अध्यादेश, २०८३ र त्यससँग सम्बन्धित नियमावली निर्माण गर्दा वैज्ञानिक, प्राविधिक तथा कर्मचारीको सुझावलाई बेवास्ता गरिएको छ।

विरोध कार्यक्रममा बोल्दै नास्टका प्राविधिक अधिकृत समुन्द्र कँडेलले नयाँ अध्यादेश वैज्ञानिक तथा कर्मचारीमैत्री नभएको आरोप लगाए।

उनले सुधारका नाममा विद्यमान संस्थागत संरचना कमजोर पार्ने, अनुसन्धान क्षेत्रलाई अनिश्चिततामा धकेल्ने र दक्ष जनशक्ति पलायन हुने अवस्था सिर्जना गर्ने निर्णय स्वीकार्य नहुने बताए।

उनका अनुसार विज्ञानसम्बन्धी कानुन र नीतिले मुलुकको अनुसन्धान तथा प्रविधि विकासको दीर्घकालीन भविष्य निर्धारण गर्ने भएकाले सरोकारवालाको सहभागिता अनिवार्य हुनुपर्छ।

CG Motors
Garima Development Bank
IME remit

अध्यादेश खारेजदेखि कर्मचारीको सेवा सुरक्षासम्मका माग

आन्दोलनरत कर्मचारीहरूले नयाँ अध्यादेश तथा नियमावली तत्काल खारेज गर्न माग गरेका छन्।

उनीहरूले संस्थाको व्यवस्थापन तथा नीतिगत निर्णयमा मन्त्रालय र मन्त्रीबाट हुने दबाब तथा हस्तक्षेप बन्द गर्नुपर्ने बताएका छन्।

नवनियुक्त समितिका सदस्यहरूलाई समेत जानकारी नगराई निर्णय गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनीहरूको माग छ।

त्यस्तै, संस्थाको नेतृत्व खुला विज्ञापन र प्रतिस्पर्धाका आधारमा चयन गर्नुपर्ने, साविकको ऐनअन्तर्गत नियुक्त कर्मचारीहरूको सेवा सुरक्षा सुनिश्चित गर्नुपर्ने र कर्मचारीलाई धम्क्याउने तथा मनोबल गिराउने गतिविधि बन्द गर्नुपर्ने माग पनि अघि सारिएको छ।

कर्मचारीहरूले वैज्ञानिक तथा प्राविधिक जनशक्तिलाई देशभित्रै अवसर सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नयाँ संरचनाभन्दा अनुसन्धान र प्रयोगशालामा लगानी बढाउन माग

आन्दोलनरत कर्मचारीहरूले संस्थागत पुनर्संरचनाका नाममा अनावश्यक खर्च बढाउनुको सट्टा नास्टका विद्यमान प्रयोगशालाको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

उनीहरूले अनुसन्धान बजेट बढाउन, वैज्ञानिकहरूलाई दबाबमुक्त वातावरण उपलब्ध गराउन र प्रतिष्ठानको स्वायत्तता सुनिश्चित गर्न माग गरेका छन्।

विज्ञान तथा प्रविधिको विकासका लागि स्थापित संस्थालाई कमजोर बनाउनेभन्दा यसको अनुसन्धान क्षमता, जनशक्ति र पूर्वाधार सुदृढ गर्नुपर्ने कर्मचारीहरूको भनाइ छ।

उनीहरूले नयाँ विज्ञान नीति निर्माण गर्दा वैज्ञानिक समुदाय, अनुसन्धानकर्ता, प्राविधिक कर्मचारी तथा अन्य सरोकारवालाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्।

सुधारको प्रयासमै विवाद

विज्ञान तथा प्रविधि क्षेत्रको संस्थागत सुधारका लागि ल्याइएको अध्यादेशको प्रक्रियामाथि नै नास्टका कर्मचारीहरूले प्रश्न उठाएका छन्।

कर्मचारीहरूको विरोधले संस्थागत पुनर्संरचना, वैज्ञानिक स्वायत्तता, नेतृत्व चयन र कर्मचारीको सेवा सुरक्षासम्बन्धी विषयमा नयाँ बहस सिर्जना गरेको छ।

यद्यपि, आन्दोलनरत कर्मचारीले उठाएका माग तथा आरोपबारे सम्बन्धित मन्त्रालयको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको विवरण प्राप्त भएको छैन।

अब सरकारले कर्मचारीका मागलाई कसरी सम्बोधन गर्छ र विवादित अध्यादेश तथा नियमावलीबारे कस्तो निर्णय लिन्छ भन्ने विषय चासोको केन्द्रमा परेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.