काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले झापाको बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमीका विद्यार्थी तथा शिक्षकहरूसँग बीमासम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
विद्यार्थी तथा शिक्षकमाझ बीमाको महत्त्व, आवश्यकता र जोखिम व्यवस्थापनमा यसको भूमिकाबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनले बीमा सम्भावित जोखिमबाट हुने आर्थिक क्षति न्यूनीकरण गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए।
उनले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्न विद्यार्थीहरूको भूमिका प्रभावकारी हुन सक्ने उल्लेख गर्दै विद्यालयमा सिकेका ज्ञानलाई परिवार र समुदायसम्म पुर्याउन आग्रह गरे।
महर्जनले जोखिम आइपरेपछि आर्थिक संकटको सामना गर्नुभन्दा जोखिम आउनुअघि नै तयारी गर्नु बुद्धिमानी हुने बताए। उनले आम्दानी तथा बचतको केही हिस्सा बीमा प्रिमियमका लागि छुट्याउनसमेत सुझाव दिए।
कार्यक्रममा प्राधिकरणकी सहायक निर्देशक सविता झाले बीमाको महत्त्व, प्रकार, आवश्यकता तथा जोखिम व्यवस्थापनमा बीमाको भूमिकाबारे प्रस्तुतीकरण गरेकी थिइन्।
उनले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक विपद् तथा आन्दोलनलगायतका घटनाबाट हुन सक्ने आर्थिक क्षति न्यूनीकरण गर्न बीमाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्।
विद्यालयस्तरबाटै वित्तीय सचेतना आवश्यक
न्युटन्स एजुकेसन एकेडेमीका प्राचार्य देवेन्द्र हुमागाईंले विद्यार्थीलाई पाठ्यपुस्तकमा सीमित ज्ञानसँगै व्यवहारिक र जीवनोपयोगी शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले बीमा आर्थिक सुरक्षाको प्रभावकारी माध्यम भए पनि यसबारे पर्याप्त जनचेतना विस्तार हुन नसकेको बताए।
विद्यालयस्तरबाटै बालबालिकालाई बीमाको महत्त्व र आवश्यकता बुझाउन सके त्यसको सकारात्मक प्रभाव परिवार तथा समाजसम्म पुग्ने उनको भनाइ थियो।
बालबालिकाको भविष्यका लागि शैक्षिक बीमामा जोड
कार्यक्रममा विद्यालयका शिक्षिकाद्वय रचना शर्मा र सिर्जना लेप्चाले बालबालिकाको भविष्य सुरक्षित बनाउन शैक्षिक बीमाको महत्त्वबारे आफ्ना अनुभव सुनाएका थिए।
उनीहरूले आफ्ना सन्तानको भविष्य तथा उच्च शिक्षाका लागि शैक्षिक बीमा गराएको जानकारी दिँदै सम्भावित आर्थिक चुनौती सामना गर्न समयमै वित्तीय योजना बनाउनुपर्ने बताए।
बालबालिकाको शिक्षामा भविष्यमा आउन सक्ने आर्थिक जोखिम कम गर्न अभिभावकले समयमै बीमाबारे सोच्नुपर्ने उनीहरूको सुझाव थियो।
नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख राजेन्द्र महर्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रमले विद्यार्थी तथा शिक्षकमार्फत बीमासम्बन्धी सचेतना परिवार र समुदायसम्म विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।