काठमाण्डौ । सरकारले संघीय सरकारअन्तर्गत कार्यरत करार कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरेको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै सरकारी सेवामा रहेका अस्थायी कर्मचारीदेखि राज्यका उच्च पदाधिकारीसम्मलाई कोषमा समेट्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएकी हुन्।
शुक्रबार नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बादीले प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी भइरहेको बताइन्।
उनले सामाजिक सुरक्षा सबै नागरिकका लागि हुनुपर्ने मान्यतालाई व्यवहारमा कार्यान्वयन गर्न सरकारले विभिन्न नीतिगत तथा संस्थागत व्यवस्था अघि बढाएको उल्लेख गरिन्।
करार कर्मचारी र शिक्षकका लागि बजेटबाटै व्यवस्था
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा एक अर्ब ८० करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ।
सोही विनियोजित बजेटबाट संघीय सरकारअन्तर्गत कार्यरत करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीतिगत आधार तयार गरिएको उनले जानकारी दिइन्।
सरकारी सेवामा कार्यरत भए पनि सामाजिक सुरक्षाका सुविधाबाट वञ्चित कर्मचारीलाई कोषमा आबद्ध गराउने सरकारको योजना छ।
यसको कार्यान्वयन संघीय सरकारबाट सुरु गरी क्रमशः प्रदेश सरकार र स्थानीय तहसम्म विस्तार गरिनेछ।
प्रदेश र स्थानीय तहसँग समन्वय गरेर अस्थायी प्रकृतिका कर्मचारी तथा शिक्षकलाई समेत सामाजिक सुरक्षा प्रणालीमा समेट्ने सरकारको लक्ष्य रहेको मन्त्री बादीले बताइन्।
प्रधानमन्त्री, मन्त्री र सांसदलाई पनि कोषमा आबद्ध गराइने
सरकारले सामाजिक सुरक्षाको दायरा श्रमिक तथा कर्मचारीमा मात्रै सीमित नराखी राज्यका उच्च पदाधिकारीसम्म विस्तार गर्ने तयारी गरेको छ।
मन्त्री बादीका अनुसार प्रधानमन्त्री, मन्त्री तथा संघीय सांसदलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
राज्यको नेतृत्व तहबाटै सामाजिक सुरक्षाप्रतिको अपनत्व र प्रतिबद्धता देखाउन यस्तो पहल गरिएको उनको भनाइ छ।
उनले सामाजिक सुरक्षाको अवधारणा नीतिगत घोषणामा मात्रै सीमित नभई व्यवहारमा लागू हुनुपर्नेमा जोड दिइन्।
अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सरकारी सहयोगदान
सरकारले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आकर्षित गर्न योगदानमा आधारित विशेष व्यवस्था अघि बढाएको छ।
मन्त्री बादीका अनुसार यस्ता श्रमिकलाई कोषमा आबद्ध गराउन संघीय सरकार र स्थानीय तहको सहभागितामा सहयोगदानको व्यवस्था मिलाइनेछ।
यसअन्तर्गत श्रमिकका लागि हाल एक प्रतिशतले हुन आउने रकम बराबरको सहयोगदान संघीय सरकारले जम्मा गरिदिने आधार तयार गरिएको छ।
त्यस्तै, राज्यका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोगदानमा स्थानीय तहलाई समेत सहभागी गराउने व्यवस्था अघि बढाइएको छ।
यसबाट औपचारिक रोजगारीको दायराबाहिर रहेका श्रमिकलाई सामाजिक सुरक्षामा सहभागी गराउन सहज हुने अपेक्षा गरिएको छ।
सार्वजनिक खरिदमा सामाजिक सुरक्षा कोषको आबद्धता अनिवार्य
मन्त्री बादीले सार्वजनिक खरिद प्रक्रियामा सामाजिक सुरक्षा कोषमा आबद्धतालाई अनिवार्य बनाउने व्यवस्थाले श्रमिकको सामाजिक सुरक्षालाई थप प्रभावकारी बनाउने दाबी गरिन्।
उनका अनुसार यस्तो व्यवस्थाले रोजगारदाता, श्रमिक र सरकारी निकायलाई सामाजिक सुरक्षाको साझा प्रणालीमा जोड्ने आधार तयार गर्नेछ।
सरकारले विभिन्न निकाय तथा कार्यक्रममार्फत छरिएर रहेका सामाजिक सुरक्षासम्बन्धी व्यवस्थालाई समन्वय र एकीकृत गर्दै संस्थागत संरचना सुदृढ गर्ने योजना पनि अघि बढाएको छ।
कोषको पारदर्शिता र वित्तीय दिगोपनामा जोड
मन्त्री बादीले सामाजिक सुरक्षा कोषलाई श्रमिकको योगदान, रोजगारदाताको जिम्मेवारी र सरकारको कल्याणकारी प्रतिबद्धताबाट निर्माण भएको साझा वित्तीय सुरक्षाको आधारका रूपमा विकास गर्नुपर्ने बताइन्।
उनले कोषमा संकलित रकमको पारदर्शी परिचालन, प्रभावकारी व्यवस्थापन तथा दीर्घकालीन वित्तीय दिगोपना सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
सरकारले सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने तयारी गरे पनि करार कर्मचारी, राहत शिक्षक, बाल विकास सहजकर्ता तथा उच्च पदाधिकारीलाई कोषमा आबद्ध गराउने विस्तृत कार्यान्वयन प्रक्रिया र समयसीमा भने स्पष्ट भइसकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।