काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आफ्नो प्रमुख कार्यकारी अधिकृत -सीईओ) ज्योतिप्रकाश पाण्डेको राजीनामासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीलाई “भ्रामक, आधारहीन तथा तथ्यहीन” भन्दै औपचारिक खण्डन गरेको हो।
बैंकद्वारा जारी विज्ञप्तिअनुसार सीईओ पाण्डे हाल पनि आफ्नो जिम्मेवारीमा सक्रिय रहेको र बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा निरन्तर संलग्न रहेको उल्लेख गरिएको छ।
एनआईएमबीले बैंकसँग सम्बन्धित कुनै पनि सूचना वा समाचार प्रकाशन गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेको छ। बैंकले आफ्ना ग्राहक, सेयरधनी तथा सर्वसाधारणप्रतिको विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा दिन प्रतिबद्ध रहेको समेत जनाएको छ।

