काठमाण्डौँ । इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिको विरोधमा नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभागमा धर्ना दिँदै सरकारको ध्यानाकर्षण गराएको छ।
महासङ्घ र एसोसिएट सदस्य समन्वय समितिको नेतृत्वमा बिहीबार गरिएको विरोध कार्यक्रममा निर्माण व्यवसायीहरूले सडक विभाग परिसरमै धर्ना बसेर मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका हुन्।
उनीहरूले सम्बन्धित निकायलाई औपचारिक ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।
व्यवसायीहरूको भनाइअनुसार इन्धन, सिमेन्ट, स्टिल, बालुवा लगायत निर्माण सामग्रीमा भएको अत्यधिक मूल्यवृद्धिका कारण देशभरका धेरै विकास आयोजनाहरू सञ्चालनमै कठिनाइ देखिएको छ।
लागत बढेपछि ठेक्का सम्झौताअनुसार काम अगाडि बढाउन नसकिएको उनीहरूको दाबी छ।
महासङ्घका प्रतिनिधिहरूले सरकारले समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाउँदै तत्काल मूल्य समायोजन वा नीति स्पष्टता नआए देशभरका आयोजनाहरू थप प्रभावित हुने चेतावनी दिएका छन्।
केही आयोजनाहरू त स्वतः बन्द हुने अवस्थामा पुगेको पनि उनीहरूले बताएका छन्।
विरोध कार्यक्रमका क्रममा व्यवसायीहरूले सरकारले चाँडै समाधान नदिए निर्माण कार्य ठप्प पार्नुपर्ने अवस्था आउन सक्ने संकेत पनि दिएका छन्।
उनीहरूले अहिलेको अवस्थालाई गम्भीर भन्दै तत्काल हस्तक्षेपको माग गरेका छन्।

