काठमाण्डौं । इलाममा केही साताअघि देखिएको बर्ड फ्लु संक्रमण नियन्त्रणमा आएको निष्कर्षपछि कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा लगाइएको प्रतिबन्ध हटाइएको छ।
संक्रमण फैलिन सक्ने जोखिम न्यून बन्दै गएको मूल्यांकनपछि जिल्ला बर्ड फ्लु नियन्त्रण समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
जिल्लामा संक्रमण देखिएपछि स्थानीय प्रशासन, पशु सेवा कार्यालय तथा सम्बन्धित निकायहरूले उच्च सतर्कता अपनाउँदै कुखुरा, चल्ला, अण्डा, दाना तथा अन्य कुखुराजन्य उत्पादनको आयात–निर्यात र ढुवानीमा रोक लगाएका थिए।
उक्त प्रतिबन्धका कारण किसान, व्यवसायी तथा कुखुरा व्यापारीहरू प्रभावित बनेका थिए।
तर, अहिले संक्रमण नियन्त्रणउन्मुख देखिएपछि व्यवसायीहरूलाई राहत मिलेको छ।
भेटेरिनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामका प्रमुख डा.राघवेन्द्र तिवारीका अनुसार पछिल्ला दिनमा संक्रमणको अवस्था सामान्य बन्दै गएको, नयाँ संक्रमण पुष्टि नभएको तथा प्राविधिक मूल्यांकनअनुसार जोखिम कम देखिएकाले प्रतिबन्ध हटाउने निर्णय गरिएको हो।
उनका अनुसार रोगको जोखिम घटे पनि पूर्ण रूपमा खतरा समाप्त भइनसकेको हुँदा सतर्कता भने निरन्तर अपनाउनुपर्ने अवस्था अझै कायम छ।
केन्द्रले बिहीबार सार्वजनिक सूचना जारी गर्दै पशु सेवा विभाग, हरिहरभवन ललितपुरमा वैशाख २९ गते बसेको प्राविधिक तथा सरोकारवाला निकायको बैठकको निर्णयअनुसार इलाममा लागू गरिएको प्रतिबन्ध फुकुवा गरिएको जनाएको छ।
यसअघि वैशाख ९ गते बसेको जिल्ला बर्ड फ्लु नियन्त्रण समितिको बैठकले संक्रमण फैलिन नदिन जिल्लाभित्र र बाहिर कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा पूर्ण रोक लगाउने निर्णय गरेको थियो।
प्रतिबन्ध हटाइएपछि अब किसान तथा व्यवसायीहरूले पुनः कुखुरा, अण्डा, चल्ला तथा अन्य उत्पादनको कारोबार र ढुवानी गर्न पाउने भएका छन्।
लामो समयसम्म रोक लाग्दा बजारमा कुखुराजन्य वस्तुको आपूर्ति प्रभावित भएको थियो भने किसानहरूले उत्पादन बिक्री गर्न नसक्दा आर्थिक क्षति बेहोर्नुपरेको थियो।
कतिपय फार्म सञ्चालकले दाना खर्च, औषधि व्यवस्थापन तथा बजार अभावका कारण थप समस्या झेल्नुपरेको बताएका थिए।
यद्यपि प्रतिबन्ध हटाइए पनि समितिले संक्रमण पुनः फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।
समितिका अनुसार संक्रमित वा जोखिमयुक्त क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य उत्पादनको ओसारपसार अझै पनि निषेध गरिएको छ।
अन्य क्षेत्रबाट ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र लिनुपर्ने व्यवस्था कायम राखिएको छ।
यसबाट स्वस्थ तथा सुरक्षित उत्पादन मात्र बजारसम्म पुग्ने सुनिश्चित गर्न खोजिएको जनाइएको छ।
समितिले कुखुरा फार्महरूमा जैविक सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्न विशेष निर्देशन दिएको छ।
फार्मभित्र अनावश्यक व्यक्ति तथा सवारीसाधन प्रवेशमा रोक लगाउन, प्रवेशद्वारमा निःसंक्रमण गर्ने व्यवस्था मिलाउन तथा ‘फुटबाथ’ प्रयोग अनिवार्य गर्न आग्रह गरिएको छ।
साथै, फार्मभित्र प्रयोग हुने उपकरण, दाना भण्डारण क्षेत्र तथा कामदारहरूको सुरक्षामा विशेष ध्यान दिन भनिएको छ।
फार्म सञ्चालकहरूलाई नियमित रूपमा कुखुराको स्वास्थ्य निगरानी गर्न, बिरामी कुखुरालाई अलग राख्न तथा संक्रमणको संकेत देखिए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन पनि समितिले अनुरोध गरेको छ।
विशेषगरी ठूलो संख्यामा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिएमा नजिकको पशु सेवा कार्यालय, स्थानीय तह वा भेटेरिनरी अस्पतालमा तुरुन्त खबर गर्न भनिएको छ।
यसका साथै, मरेका कुखुरालाई खुला स्थानमा फाल्ने, खोल्सामा बगाउने वा असुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य नगर्न चेतावनी दिइएको छ।
यस्ता कुखुरालाई वैज्ञानिक र सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्ने तथा संक्रमण फैलिन नदिन आवश्यक मापदण्ड अपनाउनुपर्ने समितिको सुझाव छ।
फार्ममा काम गर्ने व्यक्तिहरूलाई व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गर्न पनि आग्रह गरिएको छ।
मास्क, पञ्जा, बुट तथा सुरक्षात्मक पोसाक प्रयोग गर्नुका साथै हात धुने, सरसफाइ कायम राख्ने र संक्रमणको जोखिमबारे सचेत रहन समितिले सुझाव दिएको छ।
इलाममा बर्ड फ्लु संक्रमण देखिएपछि स्थानीय तह, पशु सेवा कार्यालय र सुरक्षाकर्मीहरू परिचालित भएका थिए।
संक्रमित क्षेत्रको निगरानी, नमूना परीक्षण, कुखुरा नष्ट गर्ने कार्य तथा जैविक सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो।
पछिल्लो निर्णयसँगै जिल्लाको कुखुरा व्यवसाय पुनः सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।
यद्यपि सरोकारवाला निकायहरूले संक्रमण पुनः फैलिन नदिन किसान, व्यापारी र उपभोक्ता सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूका अनुसार सतर्कता कायम राखिएमा मात्रै बर्ड फ्लु संक्रमणलाई दीर्घकालीन रूपमा नियन्त्रणमा राख्न सम्भव हुनेछ।

