काठमाण्डौं । नेपालमा चालू आर्थिक वर्षको पहिलो १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइर्) प्रतिवद्धता उल्लेखनीय रूपमा बढेको छ।
उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्मको अवधिमा कुल ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ।
उद्योग बिभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले कृषि, पर्यटन, सूचना प्रविधि, सेवा, उत्पादन तथा पूर्वाधारलगायत विभिन्न क्षेत्रमा विदेशी लगानीकर्ताको चासो बढेको देखाएको छ।
विभागका अनुसार यसअघि चैत महिनासम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो।
त्यसपछि मात्र थप एक महिनामा नयाँ परियोजनासहित लगानी प्रवाहमा थप वृद्धि देखिएको हो।
क्षेत्रगत विश्लेषण गर्दा सबैभन्दा ठूलो हिस्सा कृषिमूलक उद्योगमा देखिएको छ।
यस क्षेत्रमा १६ परियोजनामार्फत २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।
कृषि आधारित उद्योगमा आएको यो उच्च लगानीले उत्पादनमूलक कृषि, प्रशोधन तथा मूल्यवर्धित उत्पादनमा विदेशी चासो बढेको संकेत गर्छ।
पर्यटन क्षेत्र पनि लगानी आकर्षणको प्रमुख गन्तव्य बनेको छ। यस क्षेत्रमा १८९ परियोजनामार्फत १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।
होटल, रिसोर्ट, ट्राभल सेवा तथा इको–टुरिजममा बढ्दो सम्भावनाले विदेशी लगानी आकर्षित गरेको विश्लेषण गरिएको छ।
सेवामूलक क्षेत्रमा ५५ परियोजनामार्फत ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।
त्यस्तै उत्पादनमूलक उद्योगमा ४२ परियोजनामार्फत २ अर्ब ७० करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ, जसले औद्योगिक उत्पादन विस्तारमा सीमित तर स्थिर लगानी प्रवाह देखाएको छ।
पूर्वाधार क्षेत्रमा भने एक परियोजनामार्फत १ अर्ब ६५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।
यो क्षेत्र तुलनात्मक रूपमा कम परियोजनामा केन्द्रित भएपनि ठूलो आकारको लगानी आकर्षित गर्ने प्रकृतिको देखिएको छ।
सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा बढी ४२१ परियोजनामार्फत १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको छ।
परियोजनाको संख्या उच्च भए पनि औसत लगानी सानो देखिनुले स्टार्टअप, सफ्टवेयर विकास र साना डिजिटल सेवा कम्पनीमा केन्द्रित लगानी प्रवाह भएको संकेत गर्छ।
ऊर्जा क्षेत्रमा दुई परियोजनामार्फत २३ करोड ४२ लाख रुपैयाँ तथा खनिज क्षेत्रमा दुई परियोजनामार्फत ११ करोड ५० लाख रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ।
यी दुवै क्षेत्रले तुलनात्मक रूपमा न्यून तर रणनीतिक लगानी आकर्षित गरेका छन्।
वैशाख महिनामा मात्र ११३ परियोजनामार्फत ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको तथ्यांकले देखाएको छ।
यसले वर्षको अन्तिम महिनातर्फ लगानी आवेदनको गति बढेको संकेत गर्छ।
लगानी प्रतिवद्धता बढे पनि अर्थविश्लेषकहरूले यसको वास्तविक प्रभाव कार्यान्वयनमा निर्भर हुने बताएका छन्।
उनीहरूका अनुसार प्रतिवद्धता रकम मात्र होइन, परियोजना कार्यान्वयन, पूँजी प्रवेश र रोजगारी सिर्जनाको स्तरले नै देशको आर्थिक वृद्धिमा प्रत्यक्ष प्रभाव पार्नेछ।

