काठमाण्डौं । मधेश प्रदेशमा लामो समयदेखि सामाजिक तथा आर्थिक संकटको रूपमा देखिएको मिटरब्याज समस्याविरुद्ध धनुषाका पीडितहरू पुनः सडकमा उत्रिएका छन्।
विभिन्न माग राख्दै मिटरब्याजपीडितहरूले आइतबारदेखि जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि अनिश्चितकालीन आन्दोलन सुरु गरेका हुन्।
मिटरब्याजपीडित किसान मजदूर आन्दोलन नेपाल, धनुषाका जिल्ला अध्यक्ष शम्भुप्रसाद यादवका अनुसार धनुषाको फुलगामा–४ निवासी सुनिता साहलाई प्रहरीले पक्राउ गरेपछि आन्दोलन थप तीव्र बनेको हो।
उनका अनुसार मिटरब्याजबाट पीडित बनेकी महिलालाई नै पक्राउ गरेर हिरासतमा राखिएको घटनाले पीडित समुदायमा आक्रोश बढाएको छ।
प्रदर्शनकारीहरूले जिल्ला प्रहरी कार्यालयअगाडि भेला भएर “मिटरब्याजीलाई कारबाही गर”, “पीडितमाथिको दमन बन्द गर”, “न्याय चाहियो” जस्ता नाराबाजी गरेका थिए।
उनीहरूले प्रहरीले वास्तविक साहुकार र मिटरब्याज कारोबारीमाथि कारबाही गर्न नसकेको तथा उल्टै पीडितलाई नै दबाबमा पार्ने काम गरेको आरोप लगाएका छन्।
आन्दोलनका क्रममा सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनका कारण केही समय जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्र तनावपूर्ण बनेको थियो।
सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले अतिरिक्त प्रहरी परिचालन गरेको थियो।
अध्यक्ष यादवका अनुसार अब आन्दोलनलाई चरणबद्ध रूपमा अझ सशक्त बनाइनेछ।
उनले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय तथा अन्य सरकारी निकायअगाडि दैनिक धर्ना, विरोध सभा र प्रदर्शन कार्यक्रम जारी रहने जानकारी दिए।
माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि उनले दिएका छन्।
उनले मधेश प्रदेशमा मिटरब्याज समस्या नियन्त्रणभन्दा बाहिर जान थालेको उल्लेख गर्दै राजनीतिक दलहरूले चुनावका बेला समाधानको प्रतिबद्धता जनाए पनि व्यवहारमा कुनै ठोस काम नगरेको आरोप लगाए।

विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश केन्द्रित कार्यक्रममा मिटरब्याज समस्या समाधान गर्ने घोषणा गरेको स्मरण गराउँदै त्यसको कार्यान्वयन नदेखिएको उनले बताए।
पीडितहरूले गत वैशाख २१ गते संघीय सरकार र मधेश प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
तर, त्यसपछि पनि सम्बन्धित निकायले समस्या समाधानतर्फ चासो नदिएको भन्दै आन्दोलनकारीहरूले असन्तुष्टि व्यक्त गरेका छन्।
आन्दोलनकारीहरूका अनुसार चर्को ब्याजदरमा ऋण लिएपछि धेरै परिवार आर्थिक रूपमा टाट पल्टिने अवस्थामा पुगेका छन्।
ऋण तिर्न नसक्दा कतिपयले आफ्नो जग्गाजमिन गुमाएका छन् भने केही परिवार विस्थापनको जोखिममा परेका छन्।
उनीहरूका अनुसार मिटरब्याजको समस्या केवल आर्थिक विषय मात्र नभई सामाजिक र मानसिक संकटको रूपमा विकसित भइरहेको छ।
ग्रामीण क्षेत्रमा बैंक तथा औपचारिक वित्तीय पहुँच कमजोर हुँदा गरिब र श्रमिक वर्ग निजी साहुकारको ऋणमा निर्भर हुन बाध्य भएको उनीहरूको भनाइ छ।
यही अवस्थाको फाइदा उठाउँदै मिटरब्याजीहरूले अत्यधिक ब्याज असुल्ने, कागजातमा ठगी गर्ने तथा ऋणीको सम्पत्ति कब्जा गर्ने गरेको आरोप पीडितहरूले लगाएका छन्।
संघर्ष समितिका अनुसार धनुषा जिल्लामा मात्रै करिब ७० हजार नागरिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मिटरब्याज समस्याबाट प्रभावित छन्।
मधेश प्रदेशका अन्य जिल्लामा समेत यस्तै समस्या गम्भीर बन्दै गएको भन्दै सरकारले विशेष कानुनी संयन्त्र गठन गरी छानबिन, पीडित संरक्षण र दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
आन्दोलनकारीहरूले सरकारले तत्काल समस्या समाधानतर्फ ठोस कदम नचाले आन्दोलनलाई प्रदेशव्यापी र पछि राष्ट्रिय स्तरमा विस्तार गर्ने चेतावनीसमेत दिएका छन्।

