काठमाण्डौँ । वर्षायाम शुरु भएसँगै सुनकोशी नदीमा पानीको सतह बढेपछि फोक्सिङटार र बङ्शिलाघाटमा राखिएका अस्थायी बेलिब्रिज हटाइएको छ ।
बेलिब्रिज निकालिएसँगै खोटाङ जिल्लाको पूर्वी तराईसँग रहेको प्रत्यक्ष सडक सम्पर्क फेरि अवरुद्ध बनेको छ ।
अब स्थानीयवासीलाई झोलुङ्गे पुल, पैदल यात्रा र लामो घुमाउरो सडकमार्गको सहारा लिनुपर्ने अवस्था आएको छ ।
सुनकोशीमाथि स्थायी मोटरेबल पुल नबन्दा हरेक वर्ष हिउँदमा अस्थायी बेलिब्रिज जडान गर्ने र वर्षा शुरु हुनासाथ खोल्ने क्रम दोहोरिँदै आएको छ ।
यसले खोटाङको यातायात प्रणालीलाई अस्थायी र मौसमी बनाएको भन्दै स्थानीयले सरकारसँग स्थायी समाधानको माग गर्दै आएका छन् ।
पूर्वाधार विकास कार्यालय खोटाङका अनुसार बराहपोखरी गाउँपालिका–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने बङ्शिलाघाटस्थित बेलिब्रिज वैशाख २७ गतेदेखि हटाउन शुरु गरिएको हो ।
कार्यालय प्रमुख बिनम दाहालले निरन्तर वर्षाका कारण सुनकोशी नदीमा बहाव बढेकाले सुरक्षाका दृष्टिले बेलिब्रिज हटाइएको बताए ।
बङ्शिलाघाटमा पहिलो पटक जडान गरिएको उक्त अस्थायी पुलले खोटाङका जन्तेढुङ्गा, बराहपोखरी र खोटेहाङ गाउँपालिकासँगै भोजपुरका केही क्षेत्रलाई पूर्वी तराईसँग सिधा रूपमा जोडेको थियो ।
पुल सञ्चालनमा रहँदा दैनिक उपभोग्य सामग्री ढुवानी, बिरामीको उपचार, शैक्षिक यात्रा तथा व्यापारिक गतिविधि सहज बनेको स्थानीयवासी बताउँछन् ।
तर, पुल हटेपछि अवस्था फेरि पुरानै समस्यामा फर्किएको छ ।
स्थानीय युवराज मगरका अनुसार अब करिब आधा वर्षसम्म स्थानीयलाई तराई पुग्न झोलुङ्गे पुल र वैकल्पिक कठिन बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहनेछ ।
बङ्शिलाघाटमा प्रयोग गरिएको अस्थायी बेलिब्रिजका सामग्री कोशी प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास मन्त्रालयले करिब एक करोड ८७ लाख रुपैयाँमा खरिद गरेको थियो ।
पुल जडान तथा व्यवस्थापनको जिम्मा गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालि, रौतहटले करिब ५७ लाख रुपैयाँमा लिएको थियो ।
उक्त स्थानमा स्थायी मोटरेबल पुल निर्माणका लागि १९ करोड १८ लाख रुपैयाँभन्दा बढी लागतमा कालिका–वेदांसी जेभीसँग सम्झौता भएको छ ।
२०७९ मङ्सिर १ गते निर्माण सम्झौता भएपनि काम सुस्त गतिमा भइरहेको भन्दै स्थानीयले असन्तोष व्यक्त गरेका छन् ।
३३ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्रगति अपेक्षाअनुसार हुन सकेको छैन ।
यस्तै, सगरमाथा लोकमार्गअन्तर्गत पर्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज पनि जेठ ३ गतेदेखि हटाउन थालिएको छ ।
दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने उक्त बेलिब्रिज गत पुस २७ गतेदेखि सञ्चालनमा आएको थियो ।
फोक्सिङटारमा बेलिब्रिज जडान तथा हटाउने काम एमएरएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज, कटारी उदयपुरले करिब ९६ लाख ७७ हजार रुपैयाँमा गरेको हो ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने स्थायी मोटरेबल पुल भने गत वर्ष असोज १२ गतेको बाढीले बगाएको थियो ।
सञ्चालनमा आएको एक वर्ष नपुग्दै पुल बगेपछि स्थानीय फेरि अस्थायी संरचनामा निर्भर हुन बाध्य भएका हुन् ।
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले स्थायी पुल पुनर्निर्माण नहुँदासम्म जिल्लावासीले हरेक वर्ष यस्तै समस्या भोगिरहनुपर्ने बताए ।
उनका अनुसार अब पूर्वी तराईबाट आउने सवारीसाधन घुर्मी–कटारी हुँदै जयरामघाटको लामो घुमाउरो मार्ग प्रयोग गर्नुपर्नेछ ।
उनले दूरी बढ्दा ढुवानी खर्चसमेत बढ्ने र त्यसको प्रत्यक्ष असर बजार मूल्यमा पर्ने बताए ।
दैनिक उपभोग्य वस्तु महँगिने जोखिम बढेकाले सम्बन्धित निकायले तत्काल दीर्घकालीन समाधानतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ ।
फोक्सिङटारमा बाढीले बगाएको स्थायी पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले गत चैतमै ३५ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको बताइएको छ ।
एमालेका केन्द्रीय सदस्य विशाल भट्टराईले बजेट सुनिश्चित भइसकेको जानकारी दिए पनि पुनर्निर्माण प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
स्थानीयवासीले अब हरेक वर्ष अस्थायी बेलिब्रिजको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्दै सुरक्षित र दीर्घकालीन स्थायी पुल निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।

