काठमाण्डौ । साउदी अरब हर्मुज जलमार्ग बन्द हुनुअघिको भन्दा बढी जेट इन्धन युरोप निर्यात गर्ने संघारमा पुगेको छ । जहाज ट्र्याकिङ कम्पनीहरू केप्लर र भोर्टेक्साको तथ्यांकअनुसार साउदी अरबले लाल सागरस्थित यान्बु बन्दरगाहमार्फत युरोपमा जेट इन्धन आपूर्ति उल्लेखनीय रूपमा बढाएको हो।
जुन महिनाको पहिलो सातामा युरोपेली संघ र बेलायततर्फ यान्बुबाट दैनिक १ लाख १८ हजारदेखि १ लाख ४० हजार ब्यारेलसम्म जेट इन्धन पठाइएको अनुमान गरिएको छ। यो मात्रा सन् २०२५ अगस्टयताकै उच्च रहेको बताइएको छ। यसअघि सन् २०२६ को जनवरीमा साउदीको मासिक उच्च निर्यात औसत ७७ हजार ब्यारेल प्रतिदिन रहेको थियो।
इरानसँग सम्बन्धित क्षेत्रीय द्वन्द्वका कारण हर्मुज जलमार्ग प्रभावकारी रूपमा बन्द भएपछि मध्यपूर्वबाट युरोप जाने परम्परागत ऊर्जा आपूर्ति मार्ग प्रभावित भएको छ। यस्तो अवस्थामा साउदी अरबले लाल सागरमार्फत वैकल्पिक मार्ग प्रयोग गरी निर्यात बढाएको हो।
यान्बुबाट हुने आपूर्ति निरन्तर रह्यो भने युरोपमा देखिन सक्ने जेट इन्धन अभावको जोखिम कम हुने जनाइएको छ। युरोपले हाल अमेरिकाबाट तथा नाइजेरियाबाट पनि जेट इन्धन आयात बढाएको छ, जसले आपूर्ति सन्तुलन कायम गर्न सहयोग पुर्याईरहेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) ले यसअघि नै जुन महिनादेखि युरोपमा जेट इन्धन आपूर्तिमा केही राहत मिल्न सक्ने संकेत दिएको थियो। यद्यपि हर्मुज संकट लम्बिएमा जेट इन्धन बजार थप कडा हुन सक्ने चेतावनी पनि विभिन्न निकायहरूले दिएका छन्।

