काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिको प्रभाव स्थानीय बजारमा समेत परेको छ । सोमबारको कारोबारमा स्थानीय बजारमा सुनको भाउ ५ हजार रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिनपनि सुनको भाउमा १२ सय रुपैयाँको बढोत्तरी आएको थियो । उक्त दिन एक तोला सुनको भाउ प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५५ हजार ६६० रुपैयाँ कायम भएको छ ।
यो दिन सुनसँगै चाँदीको मूल्यमा वृद्धि देखिएको छ । चाँदी अघिल्लो दिनको तुलनामा १२० रुपैयाँले महङ्गो भएको छ । यो वृद्धिका साथ चाँदीको भाउ प्रतितोला ५ हजार १५ रुपैयाँ कायम भएको छ ।
अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्ने प्रारम्भिक सहमति भएको खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार करिब २ प्रतिशत बढीले वृद्धि भएको छ।
स्पट गोल्डको मूल्य २.५३ प्रतिशत अर्थात १०६.३१ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य विश्वबजारमा प्रतिऔंस ४ हजार ३२६ डलर पुगेको छ । जुन जुन ९ यताकै उच्च स्तर हो।

