काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडले व्यवस्थापन गर्दै आएको खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको योजनागत आकार २ अर्बबाट वृद्धि गरी ४ अर्ब रुपैयाँ कायम गरिएको छ।
नेपाल धितोपत्र बोर्डले असार ३ गते उक्त योजना विस्तारका लागि स्वीकृति प्रदान गरेको हो। यससँगै फण्डको इकाई बाँडफाँड तथा बिक्री प्रक्रिया पुनः सञ्चालनमा आएको छ।
यसअघि गत वैशाख ३१ गते सार्वजनिक सूचनामार्फत इकाई बाँडफाँड स्थगित गरिएको थियो। निर्धारित सीमाभन्दा बढी माग र नियामक सीमाका कारण अस्थायी रूपमा रोकिएको बाँडफाँड, अब थप स्वीकृतिपछि पुनः सुचारु गरिएको हो।
कम्पनीका अनुसार अब नयाँ इकाई खरिद तथा एसआईपीमार्फत लगानी गर्न सकिने व्यवस्था पुनः सुरु गरिएको छ। साथै एसआईपीमार्फत संकलित रकमका आधारमा इकाई बाँडफाँड पनि नियमित रूपमा अघि बढाइनेछ।
त्यस्तै, थप स्वीकृत इकाईहरू सिडिएस एण्ड क्लियरिङमा अभौतिकीकरणका लागि दर्ता भएपछि सम्बन्धित लगानीकर्ताको हितग्राही खातामा सोझै जम्मा गरिने व्यवस्था मिलाइने पनि जनाइएको छ।

