काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको अन्तिम बैठक चितवनको भरतपुरमा शुरु भएको छ।
पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र विधान संशोधनका महत्वपूर्ण एजेन्डामाथि छलफल गर्न बैठक बसेको हो।
भरतपुरस्थित सिएमटी रिसोर्टमा जारी बैठकमा महाधिवेशनको तयारी, विधान संशोधन प्रस्ताव तथा संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न विषयमा विस्तृत छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ।
बैठकको मुख्य एजेन्डामध्ये हालको १३१ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरी १५१ सदस्यीय बनाउने प्रस्ताव रहेको छ।
पार्टी नेतृत्वले तयार पारेको विधान संशोधन प्रस्तावलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर महाधिवेशनमा पेश गर्ने तयारी गरिएको छ।
रास्वपाले संगठन विस्तार र नेतृत्व संरचनालाई थप समावेशी तथा प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव अघि सारेको जनाएको छ।
यसैबीच, आइतबारदेखि चितवनमा शुरु हुने प्रथम महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट प्रतिनिधिहरू सहभागी हुनेछन्।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र नीतिगत प्राथमिकताबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ।
रास्वपाको स्थापना पछि हुन लागेको पहिलो महाधिवेशनलाई पार्टीको आगामी राजनीतिक यात्राको दिशानिर्देशक कार्यक्रमका रूपमा हेरिएको छ।
यसले पार्टीभित्र नेतृत्व चयन, संगठन विस्तार र नीति निर्माण प्रक्रियामा महत्वपूर्ण प्रभाव पार्ने विश्वास गरिएको छ।ण्डौ ।

