काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र २१ जना संस्थापक नेतालाई आगामी कार्यकालका लागि स्वतः केन्द्रीय सदस्य बनाउने विषयमा आन्तरिक छलफल भएको छ।
यद्यपि, यसबारे औपचारिक निर्णय भने अझै हुन बाँकी रहेको पार्टी स्रोतले जनाएको छ।
पार्टीका एक नेताका अनुसार संस्थापक केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था हटाएर उनीहरूलाई स्वतः केन्द्रीय सदस्यको हैसियत प्रदान गर्ने प्रस्तावबारे छलफल गरिएको हो।
तर, उक्त विषयमा सहमति जुटिसकेको छैन।
ती नेताले संस्थापक नेताहरूको योगदान, पार्टी स्थापना र संगठन विस्तारमा खेलेको भूमिकालाई ध्यानमा राख्दै उनीहरूलाई विशेष व्यवस्था गर्नुपर्ने धारणा बैठकमा उठेको बताए।
यद्यपि अन्तिम निर्णय पार्टी नेतृत्वले गर्ने उनले स्पष्ट पारे।
“संस्थापक केन्द्रीय सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने विषयमा छलफल भएको हो, तर निर्णय भएको छैन,” ती नेताले भने, “सभापतिले मनोनयन गर्ने अधिकार प्रयोग गर्दा यस विषयमा आवश्यक विवेक पुर्याउनुहुने अपेक्षा छ।”
रास्वपाको विधानअनुसार पार्टी सभापतिलाई ५१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार रहेको छ।
यही व्यवस्थाअन्तर्गत संस्थापक नेताहरूलाई समेट्ने विकल्पबारे पनि नेतृत्व तहमा छलफल भइरहेको बुझिएको छ।
यसैबीच, रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन आज चितवनको भरतपुरमा औपचारिक रूपमा उद्घाटन हुँदैछ।
असार ७ गतेदेखि सुरु भएको महाधिवेशन असार ९ गतेसम्म सञ्चालन हुनेछ।
महाधिवेशनमार्फत पार्टीको नयाँ नेतृत्व चयन, संगठनात्मक संरचनाको पुनर्संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
संस्थापक नेताहरूको भूमिकाबारे उठेको बहस पनि महाधिवेशनकै क्रममा थप स्पष्ट हुने पार्टी वृत्तको भनाइ छ।

