काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सोमबार स्थगित गरिएको बन्दसत्र आज मंगलबार दिउँसो २ बजेबाट पुनः शुरु हुने भएको छ।
महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने तथा परिचयपत्र वितरण प्रक्रियामा देखिएको ढिलाइका कारण कार्यक्रम एक दिन पछि सारिएको थियो।
पार्टीका अनुसार हालसम्म महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ३ सयभन्दा बढी पुगेको छ।
सहभागी प्रतिनिधिहरूलाई हाल अस्थायी परिचयपत्र वितरण गरिएको छ।
संगठन विभाग प्रमुख बोधनारायण श्रेष्ठका अनुसार प्रारम्भिक रूपमा छापिएका परिचयपत्रमा क्यूआर कोडसम्बन्धी प्राविधिक समस्या देखिएपछि तत्कालका लागि क्यूआर कोडविनाको अस्थायी परिचयपत्र प्रयोगमा ल्याइएको हो।
आज २ बजे सुरु हुने बन्दसत्र यही व्यवस्थाअनुसार सञ्चालन गरिने उनले बताए।
श्रेष्ठले आगामी निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन क्यूआर कोडसहितको सुधारिएको परिचयपत्र पुनः वितरण गरिने जानकारी दिएका छन्।
यसैबीच महाधिवेशन प्रतिनिधिहरूको नामावली अन्तिम रूप दिने काम जारी छ।
सूचीमा देखिएका दोहोरोपन, छुट तथा अन्य त्रुटिहरूका कारण दाबी–विरोध प्रक्रिया पनि अघि बढाइएको छ।
छुटेका नाम समावेश गर्न संगठन विभागमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ।
पार्टी स्रोतका अनुसार केही प्रतिनिधिको नाम पहिलाको सूचीमा भएपनि पछिल्लो अद्यावधिकमा छुटेको छ भने केहीको सदस्यता नम्बर एउटै परेको समस्या देखिएको छ।
यस्ता प्राविधिक त्रुटिहरू सच्याउने कार्य जारी रहेको रास्वपाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।