काठमाण्डौ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले हालसम्म ५ लाख १२ हजार मेट्रिक टन रासायनिक मल बिक्री वितरण भइसकेको बताएकी छन्।
मंगलबार राष्ट्रियसभामा मन्त्रालयगत बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले असार १९ गतेसम्म ५ लाख ५८ हजार मेट्रिक टन मल आयात भएको जानकारी दिइन्। उनका अनुसार विगतको मौज्दातसमेत जोड्दा हालसम्म ५ लाख १२ हजार मेट्रिक टन मल किसानसम्म बिक्री वितरण भइसकेको छ।
मन्त्री चौधरीले अहिले ९५ हजार मेट्रिक टन मल मौज्दात रहेको र जीटुजी प्रक्रियामार्फत थप ५० हजार मेट्रिक टन मल छिट्टै आपूर्ति हुने क्रममा रहेको बताइन्। यसले धान सिजनका लागि आवश्यक मल सहज रूपमा उपलब्ध हुने उनको दाबी छ।
उनले मल आपूर्तिका लागि बजेट अभाव हुन नदिन अर्थ मन्त्रालयबाट आवश्यक परे थप बजेट उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको पनि जानकारी दिइन्।
मन्त्री चौधरीका अनुसार कुल १५६ वटा स्थानीय तहमा साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि करिब १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। त्यस्तै, संघीय निकायतर्फ साना सिँचाइ संरचना निर्माण तथा विस्तारका लागि ४ करोड १७ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताइन्।
सिँचाइ मन्त्रालयमार्फत निर्माण भइरहेका ठूला सिँचाइ आयोजनाबाट आगामी दिनमा मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका खेतीयोग्य जमिनमा सहज रूपमा सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको मन्त्री चौधरीले बताइन्।
त्यसैगरी, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र सहअस्तित्व प्रवर्द्धनका लागि प्रत्यक्ष परिणाममुखी कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

