सोमबार, श्रावण १८,२०८३ 06:06:53
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 06:06:53
Bizshala
Global IME Bank Limited

१ लाख ३० हजारमा नक्कली नागरिकता बेच्ने गिरोह विराटनगरबाट पक्राउ

१ लाख ३० हजारमा नक्कली नागरिकता बेच्ने गिरोह विराटनगरबाट पक्राउ
New Office

काठमाण्डौ । नक्कली नागरिकता बनाएर सर्वसाधारणलाई बिक्री गर्दै आएको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ का ६५ वर्षीय अशोककुमार श्रेष्ठ र विराटनगर–५ का ३८ वर्षीय धनदेव राजवंशी रहेका छन्। प्रहरीले उनीहरू नक्कली नागरिकता बनाउने र बिक्री गर्ने कार्यमा संलग्न रहेको जनाएको छ।

यो प्रकरण विराटनगरमा मजदुरी गर्दै आएकी ३० वर्षीया मनिषा कामत राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेपछि खुलेको हो। बुधबार दिउँसो परिचयपत्र बनाउन पुगेकी कामतले आफ्नो साथमा रहेको १०२२/३०० नम्बरको नागरिकता कर्मचारीलाई दिएकी थिइन्। तर, कर्मचारीले रुजु गर्दा उक्त नागरिकता नक्कली रहेको खुलेको थियो।

कर्मचारीले नागरिकता नक्कली भएको बताएपछि कामत आत्तिएकी थिइन्। उनले आफूले पाएको नागरिकता जिल्ला प्रशासन कार्यालयबाटै जारी भएको ठानेकी थिइन्।

त्यही क्रममा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले सोधपुछ गर्दा कामतले एक व्यक्तिलाई पैसा दिएर नागरिकता बनाएको खुलाएकी थिइन्। नागरिकता बनाउने प्रक्रिया थाहा नभएकी उनलाई श्रेष्ठले प्रशासनसँग आफ्नो पहुँच रहेको भन्दै नागरिकता बनाइदिने प्रलोभन दिएका थिए।

श्रेष्ठले कामत र उनका मामाको नागरिकता बनाइदिने भन्दै एक लाख ३० हजार रुपैयाँ, आवश्यक कागजात र फोटो लिएको खुलेको छ। त्यसको तीन दिनपछि उनले महेन्द्रचोकमा बोलाएर कामतलाई नागरिकता दिएका थिए।

सोही नागरिकता लिएर राष्ट्रिय परिचयपत्र बनाउन पुगेपछि नक्कली नागरिकता कारोबारको रहस्य खुलेको हो।

अनुसन्धानका क्रममा प्रहरीले श्रेष्ठको साथबाट थप १० थान नक्कली नागरिकता बरामद गरेको छ। श्रेष्ठ पक्राउ परेपछि थप दुई व्यक्ति पनि आफ्नो नागरिकता उनैले बनाइदिएको भन्दै प्रशासनको सम्पर्कमा पुगेका छन्।

प्रहरीका अनुसार बरामद नागरिकतामा नेपाल सरकारको होलोग्राम, प्रशासनको छाप, जारी गर्ने अधिकृतको हस्ताक्षर र लेमिनेसनसमेत सक्कलीसरह देखिने गरी बनाइएको थियो। ती नागरिकतामा २०६८ देखि २०८२ सालसम्मका मिति र नागरिकता नम्बर उल्लेख गरिएको पाइएको छ।

अनुसन्धानका क्रममा श्रेष्ठसँगको सम्बन्ध खुलेपछि विराटनगर–५ स्थित न्यू डोली फोटो सर्भिसेज सञ्चालन गर्दै आएका धनदेव राजवंशी पनि पक्राउ परेका हुन्। प्रहरीका अनुसार राजवंशीकै स्टुडियोमा नक्कली नागरिकता छाप्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीले जन्मदर्ता फाराम, नागरिकता आवेदन, राष्ट्रिय परिचयपत्रका फाराम तथा वडा कार्यालयमा नागरिकता सिफारिसका लागि लेखिएका निवेदनलगायत सरकारी कागजातसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.