काठमाण्डौ । बंगलादेशले अमेरिकी कम्पनी स्पेसएक्सको स्याटलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकलाई सीमापार ब्यान्डविथ निर्यात गर्न अनुमति दिएसँगै नेपालमा यसको सेवा विस्तारका लागि प्राविधिक बाटो खुलेको छ।
बंगलादेशको दूरसञ्चार नियामक आयोगले स्टारलिंकलाई आफ्नो पूर्वाधार प्रयोग गरी दक्षिण एसियाली देशहरूमा इन्टरनेट ट्राफिक पठाउन स्वीकृति दिएको हो। यससँगै नेपाल र भुटानजस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश स्याटलाइट इन्टरनेटको प्रमुख ‘ट्रान्जिट हब’ बन्न सक्ने देखिएको छ।
स्टारलिंकले बंगलादेशको सामुद्रिक सबमरिन केबलबाट प्राप्त अन्तर्राष्ट्रिय ब्यान्डविथलाई स्याटलाइटमार्फत नेपालसम्म पुर्याउन सक्नेछ। बंगलादेशले ‘अनफिल्टर्ड’ ब्यान्डविथ निर्यात गर्न सक्ने व्यवस्था गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
स्याटलाइट विज्ञ मुस्ताफा महमुद हुसेनका अनुसार नेपाल सरकारले अनुमति दिए नेपाली प्रयोगकर्ताले स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्। उनले यो प्रणालीलाई विदेशी भू–केन्द्रमार्फत सञ्चालित ‘बेन्ट पाइप’ संरचनाका रूपमा व्याख्या गरेका छन्।
तर प्राविधिक बाटो खुले पनि नेपालमा स्टारलिंक सञ्चालनको कानुनी तथा नीतिगत जटिलता अझै समाधान भएको छैन। विद्यमान व्यवस्थाअनुसार कम्पनीले स्थानीय साझेदारसहित नेपालमा दर्ता भएर मात्र सेवा सञ्चालन गर्न पाउँछ।
स्टारलिंकले भने शतप्रतिशत वैदेशिक स्वामित्व कायम राखेर सेवा सञ्चालन गर्न चाहेकाले सरकार र कम्पनीबीचको मुख्य नीतिगत गाँठो यथावत् छ। कानुनी अवरोध समाधान नभएसम्म बंगलादेशबाट ब्यान्डविथ ल्याउने सुविधा खुले पनि नेपालमा स्टारलिंकको व्यावसायिक सेवा तत्काल सुरु हुने सम्भावना देखिँदैन।

