मंगलवार, असार ३०,२०८३ 04:04:20
Bizshala
  • मंगलवार, असार ३०,२०८३ 04:04:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

शाही शासनका बन्दुकसँग नझुकेको प्रेस दुई–चार गाडी तेर्स्याउँदैमा तर्सिन्छ र ? : रास्वपा सचेतक परियार

Laxmi Sunrise Bank Limited
शाही शासनका बन्दुकसँग नझुकेको प्रेस दुई–चार गाडी तेर्स्याउँदैमा तर्सिन्छ र ? : रास्वपा सचेतक परियार

 

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले सञ्चारगृहको प्रवेशद्वारमा गाडी तेर्स्याएर त्रास सिर्जना गर्ने प्रयासलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहारको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै परियारले शाही निरंकुश शासनका बन्दुकधारी सेनासँग समेत नझुकेको नेपाली पत्रकारिता सडकमा दुई–चारवटा गाडी तेर्स्याउँदैमा नतर्सिने बताए।

‘हिजो निरंकुश शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासन थियो। बन्दुक बोकेका सेना समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे,’ उनले प्रश्न गरे, ‘त्यस्तो अवस्थामा समेत नझुकेको नेपाली सञ्चारमाध्यम आज सडकमा दुई–चारवटा गाडी तेर्स्याएर तर्सिन्छ र?’

राजधानीस्थित एक अग्रणी सञ्चारगृहको मुख्य प्रवेशद्वारमा सवारीसाधन पार्किङ गरी आवतजावत अवरुद्ध गर्ने प्रयासको कडा भर्त्सना गर्दै उनले सत्यसँग डराउनेहरूले मात्रै सञ्चारमाध्यममाथि अवरोध सिर्जना गर्ने टिप्पणी गरे।

New Office
CG Motors
Garima Development Bank

‘सत्यलाई ढाकछोप गर्न खोज्नु हत्केलाले सूर्य छेक्न खोज्नुजस्तै हो,’ उनले भने, ‘ओखलीमा टाउको हालेपछि मुसलको के डर? शाहीकालका बन्दुकधारी सेनाले रोक्न नसकेको नेपाली पत्रकारितालाई आज सडकमा अवरोध खडा गरेर गलाउने सपना देख्नु दिवास्वप्न मात्रै हो।’

परियारले नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरिएको स्मरण गराउँदै त्यसको रक्षा गर्नु सरकार, संसद् र राजनीतिक दलहरूको साझा दायित्व भएको बताए।

आफू सांसद तथा आमसञ्चारको विद्यार्थी मात्र नभई संविधानप्रदत्त प्रेस स्वतन्त्रताको पहरेदारका रूपमा सदनमा उभिएको उनको भनाइ थियो।

उनले रास्वपा लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टानझैँ उभिने दाबीसमेत गरे। सत्ता, शक्ति वा स्वार्थका आधारमा सञ्चारमाध्यममाथि दबाब, त्रास र अराजकता सिर्जना गर्ने कार्य कुनै पनि अवस्थामा स्वीकार्य नहुने उनले स्पष्ट पारे।

‘लोकतन्त्र बचाउने हो भने प्रेस स्वतन्त्रताको रक्षा गर्नैपर्छ,’ उनले भने, ‘प्रेसमाथि हुने जुनसुकै आक्रमणविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी अग्रपङ्क्तिमा उभिनेछ।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, उनले स्वतन्त्रतासँगै पत्रकारिता जिम्मेवार पनि हुनुपर्ने आवश्यकता औँल्याए। महात्मा गान्धीको भनाइ स्मरण गर्दै उनले अनियन्त्रित पानीको भेलले गाउँ र बाली नष्ट गरेजस्तै अनियन्त्रित कलमले पनि विनाश निम्त्याउन सक्ने बताए।

‘प्रेस सच्चिनुपर्ने ठाउँमा सच्चिनैपर्छ। त्यो पत्रकारिता क्षेत्रकै दायित्व हो,’ उनले भने, ‘तर सुधारको नाममा प्रेसलाई तर्साउने, रोक्ने वा अवरोध गर्ने छुट कसैलाई छैन।’

परियारले सदनमार्फत सरकार र गृह प्रशासनको ध्यानाकर्षण गराउँदै सबै सञ्चारगृह तथा पत्रकारले त्रासरहित वातावरणमा निर्बाध रूपमा काम गर्न पाउने सुरक्षाको प्रत्याभूति तत्काल गर्न माग गरे।

उनले प्रेस ‘एक्सप्रेस’ नभई स्वतन्त्र, मर्यादित र जिम्मेवार बन्नुपर्ने उल्लेख गर्दै त्यस्तो पत्रकारिता नै लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिको आधार हुने बताए।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.