काठमाण्डौ । अमेरिकाले इरानका सबै बन्दरगाह, तेल टर्मिनल र तटीय क्षेत्रलाई लक्षित गर्दै समुद्री नाकाबन्दी पुनः लागू गरेको छ। नाकाबन्दी कार्यान्वयन गर्न मध्यपूर्व क्षेत्रमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ सैन्य विमान परिचालन गरिएको अमेरिकी सेनाले जनाएको छ।
अमेरिकी नौसेनाको नेतृत्वमा रहेको संयुक्त समुद्री सूचना केन्द्रका अनुसार नाकाबन्दी मंगलबार राति ८ बजे जीएमटी अर्थात् वासिङ्टन समयअनुसार अपराह्न ४ बजेदेखि कार्यान्वयनमा आएको हो। यो व्यवस्था झण्डा वा दर्ता भएको देश नहेरी इरानी बन्दरगाह तथा तटीय क्षेत्रमा प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने सबै जहाजमा लागू हुनेछ।
अमेरिकी सेनाले अनुमति नलिई नाकाबन्दी गरिएको क्षेत्रमा प्रवेश गर्ने वा बाहिरिने प्रयास गर्ने जहाजलाई नियन्त्रणमा लिन, बाटो परिवर्तन गराउन वा कब्जा गर्न सकिने चेतावनी दिएको छ। आदेश पालना नगर्ने जहाजविरुद्ध बल प्रयोगसमेत हुन सक्ने अमेरिकी सूचनामा उल्लेख छ।
यद्यपि, इरानबाहेक अन्य देशतर्फ जाने वा अन्य देशबाट आउने जहाजको हर्मुज जलमार्ग हुँदै हुने सामान्य आवतजावतमा अवरोध नगरिने अमेरिकाले स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग सबै देशका जहाजका लागि खुला रहने तर इरानी व्यापारिक आवागमन रोक्ने बताएका छन्।
अमेरिकी सेनाका अनुसार हाल मध्यपूर्व क्षेत्रमा २० भन्दा बढी नौसैनिक युद्धपोत र सयौँ सैन्य विमान परिचालनमा छन्। अमेरिकी केन्द्रीय कमान्डले इरानबाट व्यावसायिक जहाजमाथि भइरहेको आक्रमण रोक्न र हर्मुज जलमार्गमा सुरक्षित आवागमन कायम गर्न सैन्य शक्ति परिचालन गरिएको दाबी गरेको छ।
राष्ट्रपति ट्रम्पले इरान वार्तामा नफर्किए आगामी सातादेखि विद्युत् केन्द्र र पुलजस्ता पूर्वाधारलाई निशाना बनाउन सकिने चेतावनीसमेत दिएका छन्। अमेरिकाले इरानी सैन्य क्षमतामाथि नयाँ चरणको हवाई आक्रमण सुरु गरेको जनाएको छ।
यसअघि ट्रम्पले हर्मुज जलमार्ग हुँदै ढुवानी हुने कार्गोबाट २० प्रतिशत शुल्क उठाउने घोषणा गरेका थिए। तर संयुक्त राष्ट्रसंघीय समुद्री निकायलगायतबाट आलोचना भएपछि उनले उक्त योजना फिर्ता लिँदै खाडी देशसँग लगानी सम्झौता गर्ने विकल्प अघि सारेका छन्।
अमेरिकाले गत अप्रिलमा पनि इरानी बन्दरगाहमाथि यस्तै नाकाबन्दी लागू गरेको थियो। जुनमा अमेरिका र इरानबीच समझदारी भएपछि नाकाबन्दी हटाइएको थियो। तर स्थायी सम्झौताका लागि भएको वार्ता निष्कर्षमा पुग्न नसकेको र हर्मुज क्षेत्रमा पुनः जहाजमाथि आक्रमण भएपछि नाकाबन्दी ब्युँताइएको हो।
उता, इरानले अमेरिकी आक्रमण र सैन्य गतिविधिको विरोध गर्दै हर्मुज जलमार्ग पुनः बन्द गरिएको घोषणा गरेको छ। तेहरानले अमेरिकी दबाबका कारण वार्तामा नफर्किने बताउँदै जोर्डन, बहराइन र कुवेतस्थित अमेरिकी सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ। तीमध्ये केही दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी रहेको रोयटर्सले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।