काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका उपसभापति एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काभ्रेपलाञ्चोकको धुलिखेल–११ स्थित दुसित थानी हिमालयन रिसोर्टबाट काठमाडौं फर्किएका छन्।
पत्नी निकिता पौडेलसहित रिसोर्ट पुगेका लामिछाने र छुट्टै त्यहाँ पुगेका अर्थमन्त्री वाग्ले केही समयको भेटघाटपछि रिसोर्टबाट निस्किएका हुन्। सुरक्षा स्रोतका अनुसार उनीहरू काठमाडौं फर्किने क्रममा छन्।
अर्थमन्त्री वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट प्रवेश गरेका थिए। त्यसको करिब २० मिनेटपछि लामिछाने पत्नी निकितासहित रिसोर्ट पुगेका थिए।
उनीहरू अर्थमन्त्री वाग्लेको लगानी रहेको बताइएको रिसोर्ट परिसरभित्रको निजी भिल्लामा बसेर छलफल गरेका थिए। यद्यपि, भेटमा भएका कुराकानीको विषय सार्वजनिक गरिएको छैन।
पछिल्लो समय सरकार र रास्वपाबीचको तालमेल तथा पार्टीभित्र अर्थमन्त्री वाग्लेको भूमिकालाई लिएर चर्चा चलिरहेका बेला सभापति लामिछाने र अर्थमन्त्री वाग्लेबीच भएको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।