काठमाण्डौ । नेपाल राष्ट्र बैंक, विदेशी विनिमय व्यवस्थापन विभागले नेपालमा नगद विदेशी मुद्रा भित्र्याउने तथा बाहिर लैजाने सम्बन्धी विद्यमान व्यवस्थाबारे पुनः सूचना जारी गरेको छ।
नेपाल राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधानअनुसार नेपाली तथा विदेशी नागरिकले नगद विदेशी मुद्रा नेपाल ल्याउँदा र लैजाँदा पालना गर्नुपर्ने व्यवस्थालाई पुनः सार्वजनिक गरेको हो।
सूचनाअनुसार नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म नगद विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सक्नेछन्। भारतीय रुपैयाँको हकमा अमेरिकी डलर ५ हजार बराबर हुन आउने रकमसम्म तथा नेपाल राष्ट्र बैंकले विनिमय दर प्रकाशित नगरेका अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५ हजार बराबरको सीमासम्म भन्सार घोषणा आवश्यक पर्ने छैन।
तर, तोकिएको सीमाभन्दा बढी नगद विदेशी मुद्रा नेपाल ल्याउँदा वा लैजाँदा अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ।
यसैबीच, भारतीय रुपैयाँसम्बन्धी व्यवस्थाबारे पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ। नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १ हजार दरका नोटको कारोबार गर्न निषेध गरिएको छ।
सन् २०१६ नोभेम्बर ९ पछि जारी भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार रुपैयाँसम्म प्रचलित व्यवस्थाअनुसार नेपाल ल्याउन, लैजान तथा सटही गर्न सक्ने व्यवस्था रहेको छ।
राष्ट्र बैंकले नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन नपाउने व्यवस्था पनि पुनः जानकारी गराएको छ।
राष्ट्र बैंकले यस विषयमा यसअघि २०८२ भदौ १० गते प्रकाशित सूचना खारेज गरिएको समेत जनाएको छ।

