काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को रिक्त उपसभापति पदमा गृहमन्त्री सुधन गुरुङ मनोनीत हुने सम्भावना बलियो देखिएको छ। पार्टी सभापति रवि लामिछाने पनि गुरुङलाई उपसभापति बनाउने प्रस्तावप्रति सकारात्मक रहेको स्रोतको दाबी छ।
रास्वपाको बुधबार बस्ने केन्द्रीय समिति बैठकले केही केन्द्रीय सदस्य र रिक्त पदाधिकारी मनोनयन गर्ने तयारी गरेको छ। पार्टी विधानअनुसार पदाधिकारी बन्न पहिले केन्द्रीय सदस्य हुनुपर्ने भएकाले गुरुङलाई सुरुमा केन्द्रीय सदस्य मनोनीत गरी उपसभापतिको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।
उपसभापतिमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको पनि दाबी रहे पनि पार्टीभित्र गुरुङको पक्षमा बलियो मत देखिएको छ। रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई एकता प्रक्रियामा जोड्न गुरुङले भूमिका खेलेको तथा उनको नियुक्तिले पदाधिकारी संरचना समावेशी हुने तर्क गरिएको छ।
रास्वपाले महाधिवेशनपछि बाँकी ५१ केन्द्रीय सदस्य तथा उपसभापति, महामन्त्री, प्रवक्तासहितका पदाधिकारी मनोनयन गर्न बाँकी छ। एकता प्रक्रियाबाट आएका समूहबीच भागबन्डा मिलाउन समय लागेकाले केन्द्रीय समिति विस्तारमा ढिलाइ भएको नेताहरूले बताएका छन्।

