काठमाण्डौ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बीच अपि–साइपाल तथा कञ्चनजंघा पदमार्ग केन्द्रित सांस्कृतिक प्रदर्शन प्याकेज विकास तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने विषयमा सम्झौता भएको छ ।
नेपाल पर्यटन बोर्डमा बुधबार नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपी राष्ट्रिय कार्यक्रम निर्देशक हिक्मत सिंह ऐर र सांस्कृतिक संस्थानका तर्फबाट महाप्रबन्धक किरण बाबु पुनले सम्झौतामा हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार दुवै संस्थाले सांस्कृतिक सम्पदालाई पर्यटन उत्पादनका रूपमा विकास गर्दै दुर्गम हिमाली गन्तव्यमा पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय समुदायलाई प्रत्यक्ष आर्थिक लाभ पुग्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्नेछन् ।
यस सम्झौताअनुसार २०८३ साउनदेखि २०८३ पुस १४ गतेसम्म परियोजना कार्यान्वयनको समयवाधि तय गरिएको छ । परियोजनाअन्तर्गत ‘अपि–साइपाल र कञ्चनजंघा पदमार्गका लागि सांस्कृतिक प्रदर्शन प्याकेज विकास’ कार्यक्रम सांस्कृतिक संस्थानले कार्यान्वयन साझेदारका रूपमा सञ्चालन गर्नेछ ।
सम्झौताअन्तर्गत अपि–साइपाल र कञ्चनजंघा क्षेत्रमा सांस्कृतिक प्याकेज विकास तालिम, सांस्कृतिक कलाकार तथा स्रोत व्यक्तिको परिचालन, वाद्यवादन सामग्री र साउन्ड सिस्टम व्यवस्थापन, नमूना सांस्कृतिक प्रस्तुति, सांस्कृतिक प्याकेज प्रदर्शनी तथा स्थानीय सांस्कृतिक प्रस्तुतिको विकास गरिनेछ । यसका अतिरिक्त जनकपुर, मनास्लु र लुम्बिनीमा समेत सांस्कृतिक प्रदर्शन प्याकेज विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
परियोजनामा फरक क्षमता भएका व्यक्तिहरूका लागि गायन तालिम, प्रतिभा प्रस्तुति र रेकर्डिङ कार्यक्रम समेत समावेश गरिएको छ । साथै अपि, मनास्लु र कञ्चनजंघा क्षेत्रका सांस्कृतिक समूहबीच सांस्कृतिक आदान–प्रदान कार्यक्रम सञ्चालन गरी स्थानीय कला, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने योजना रहेको छ ।
सम्झौतापछि दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना निर्देशक ऐरले नेपालका हिमाली पदमार्गहरू प्राकृतिक सौन्दर्यका मात्र नभई जीवित संस्कृति र मौलिक पहिचानका केन्द्र भएको उल्लेख गर्दै यस सहकार्यले पर्यटनलाई स्थानीय संस्कृतिसँग जोडेर नयाँ अनुभव सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन् । ‘पर्यटकलाई हिमालसँगै स्थानीय संस्कृति, कला र जीवनशैलीको प्रामाणिक अनुभव प्रदान गर्नु दिगो पर्यटनको आधार हो । सांस्कृतिक संस्थानसँगको यो सहकार्यले अपि–साइपाल, कञ्चनजंघालगायतका गन्तव्यमा सांस्कृतिक पर्यटनको नयाँ आयाम थप्नुका साथै स्थानीय कलाकारका लागि रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्नेछ,’ ऐरले भने।
उनका अनुसार परियोजनाले सांस्कृतिक सम्पदाको संरक्षणसँगै स्थानीय समुदायको सहभागितामा पर्यटन उत्पादनको विविधीकरण गरी नेपालका नयाँ गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

