काठमाण्डौ । नेपाल पर्यटन बोर्डले कार्यकारी प्रमुख (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डले शुक्रबार प्रकाशित सूचनामार्फत योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
बोर्डका अनुसार इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसपछिको कार्यालय खुलेको दिन कार्यालय समयभित्र आवेदन बुझाउन सकिनेछ।
सीईओ पदका लागि उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ। मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरी पर्यटन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। साथै, प्रचलित कानुनबमोजिम उम्मेदवार हुन अयोग्य नभएको हुनुपर्नेछ।
आवेदनसँगै उम्मेदवारले आफ्नो शैक्षिक योग्यता, अनुभवलगायतका प्रमाणित कागजात पेस गर्नुपर्नेछ।
त्यस्तै, नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धिका लागि गर्नुपर्ने गतिविधि समेटिएको तीन हजार शब्दमा नबढ्ने रणनीतिक कार्ययोजना समेत बुझाउनुपर्नेछ।
उम्मेदवारले आफूले काम गरेको संस्था वा संगठनमा आफ्नो प्रयासबाट हासिल गरेको उल्लेख्य उपलब्धिबारे एक हजार शब्दमा नबढ्ने प्रतिवेदन पनि पेस गर्नुपर्नेछ। सार्वजनिक संस्थाको विभागीय जिम्मेवारीमा रहेका उम्मेदवारले विभागीय स्वीकृति प्राप्त गरेको पत्रसमेत बुझाउनुपर्नेछ।
आवेदन दस्तुर रु. १५ हजार तोकिएको छ। उक्त रकम नेपाल पर्यटन बोर्डको नाममा नबिल बैंक, तीनधारा शाखामा रहेको खाता नं. ०१०१०१७५००३५३ मा जम्मा गरी बैंक भौचर आवेदनसँग संलग्न गर्नुपर्नेछ।
आवेदन नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाण्डौस्थित कार्यकारी प्रमुखको सचिवालयमा प्रत्यक्ष रूपमा बुझाउन सकिनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।