काठमाण्डौ अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानमाथि ठूलो स्तरको हवाई आक्रमण गरेको जनाएको छ। इरानले एक दिनअघि अमेरिकी सेनामाथि क्षेप्यास्त्र आक्रमण गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो।
सेन्टकमले बिहीबार सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको विवरणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का दर्जनौँ लक्ष्यमा आक्रमण गरिएको जनाएको छ। आक्रमण गरिएका स्थानमा सैन्य कमान्ड केन्द्र, क्षेप्यास्त्र तथा ड्रोन संरचना, तटीय निगरानी तथा रक्षा प्रणाली र समुद्री क्षमतासम्बन्धी पूर्वाधार रहेको अमेरिकी सेनाले दाबी गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनमा रहेका अमेरिकी सैनिक अड्डामाथि इरानले आक्रमण गरेपछि इरानलाई कडा जवाफ दिने चेतावनी दिएका केही घण्टापछि यी हमला भएका हुन्।
तेहरानबाट अल जजिराका संवाददाता रेसुल सर्दारका अनुसार पछिल्लो अमेरिकी आक्रमण इरानका दक्षिणी प्रान्तहरू, विशेषगरी खाडी क्षेत्र र होर्मुज जलडमरूमध्य आसपास केन्द्रित देखिएको छ। यसअघि भएको १३ दिने सैन्य अभियानका क्रममा पनि अमेरिकाले यिनै क्षेत्रमा आक्रमण गरेको थियो।
इरानी अधिकारीहरूका अनुसार क्युस्म टापुमा रहेको एउटा आवासीय भवनमा आक्रमण हुँदा तीन जना भग्नावशेषमुनि फसेका छन् भने दुई जना घाइतेलाई अस्पताल लगिएको छ। होर्मोजगान प्रान्तको बन्दर अब्बाससम्म विस्फोटको आवाज सुनिएको र सुरुमा बन्दरगाहमा समेत आक्रमण भएको आशंका गरिएको थियो।
अधिकारीहरूका अनुसार क्युस्म टापुमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने भग्नावशेष हटाउने र विद्युत् पुनःस्थापना गर्ने काम भइरहेको छ।
खुजेस्तान प्रान्तका उपसुरक्षा मन्त्रीले इरानी सरकारी प्रसारक आईआरआईबीसँग कुरा गर्दै अमेरिकी सेनाले अबादानका केही स्थानलाई निशाना बनाएको बताएका छन्। यस्तै, इरानको अर्धसरकारी तस्निम समाचार संस्थाले दक्षिणपश्चिमी फार्स प्रान्तको काजेरुन सहर आसपास तथा खाडीस्थित किश टापुमा विस्फोट भएको जनाएको छ।
इरानी अधिकारीहरूले किश टापुको विमानस्थल र यात्रुवाहक नौका सेवा भने सामान्य रूपमा सञ्चालन भइरहेको बताएका छन्। यसैबीच, आईआरजीसीले अमेरिकाबाट धम्की जारी रहेसम्म इरानको प्रतिरोध पनि जारी रहने जनाएको छ।
अमेरिकाले विश्वव्यापी तेल आपूर्तिको महत्वपूर्ण मार्ग स्ट्रेट अफ हर्मुजमा इरानको नियन्त्रण अन्त्य गर्न चाहेको बताउँदै आएको छ। यसअघि इरानले जलमार्गको संयुक्त व्यवस्थापनसम्बन्धी ओमानको प्रस्ताव अस्वीकार गरेको थियो।
यता, अमेरिकी अर्थ मन्त्रालयले बुधबार इरानी दुई कम्पनीमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ। ती कम्पनीहरू आईआरजीसी समर्थित योजनामा संलग्न रहेको र होर्मुज हुँदै जाने व्यापारिक जहाजलाई बीमा लिन बाध्य पार्ने कार्यमा भूमिका रहेको अमेरिकी दाबी छ।
अमेरिकी सेन्टकमले पछिल्लो आक्रमणको उद्देश्य इरान र उसका सहयोगी समूहबाट अमेरिकी सेना, व्यापारिक जहाज तथा खाडी क्षेत्रका छिमेकी मुलुकमाथिको जोखिम कम गर्नु रहेको जनाएको छ।

