काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी नयाँ रूपरेखा तयार गरेको छ।
उम्मेदवार छनोट प्रक्रियालाई वैज्ञानिक, वस्तुपरक, पारदर्शी र सहभागितामूलक बनाउने उद्देश्यले नयाँ मापदण्ड तयार गरिएको पार्टीले जनाएको छ।
रास्वपाको विधानमा व्यवस्था गरिएको लिडरसिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गरिनेछ। पार्टीबाट उम्मेदवार बन्न चाहने व्यक्तिले सबैभन्दा पहिले ‘क्यान्डिडेट क्लब’मा औपचारिक आवेदन दिनुपर्नेछ।
आवेदकले प्रचलित कानुन तथा पार्टी विधानले तोकेका योग्यता र मापदण्ड पूरा गरेको हुनुपर्नेछ।
रूपरेखाअनुसार उम्मेदवारको मूल्याङ्कनमा प्रारम्भिक निर्वाचनलाई सबैभन्दा बढी ४० प्रतिशत भार दिइएको छ। लिडरसिप एकेडेमी र पार्टीसँगको राजनीतिक निकटतालाई समान २५–२५ प्रतिशत तथा समावेशितालाई १० प्रतिशत भार दिइनेछ।
पार्टीले एउटै निर्वाचन चक्रभित्र फरक तहका निर्वाचनमा उम्मेदवारीका लागि सहभागी हुन पाउने विषयमा पनि सीमा तोकेको छ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भइसकेका व्यक्तिले सोही निर्वाचन चक्रभित्र स्थानीय तहको उम्मेदवार छनोट प्रक्रियामा भाग लिन पाउने छैनन्।
त्यस्तै, स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेर पराजित भएका व्यक्ति सोही निर्वाचन चक्रभित्र हुने प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
वडा तहको उम्मेदवार छनोट प्रक्रियामा सहभागी भएका व्यक्तिलाई पनि सोही निर्वाचन चक्रभित्र प्रदेशसभा सदस्यको उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन रोक लगाइएको छ।
रास्वपाले नयाँ रूपरेखामार्फत उम्मेदवार छनोटमा आन्तरिक प्रतिस्पर्धा, नेतृत्व क्षमता, पार्टीप्रतिको प्रतिबद्धता र समावेशी प्रतिनिधित्वलाई सन्तुलित रूपमा मूल्याङ्कन गर्ने लक्ष्य लिएको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।