काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकी इन्डियाले सन् २०३०–३१ सम्ममा भारतको घरेलु यात्रुवाहक सवारीसाधन बजार ६१ लाखदेखि ६३ लाख युनिटसम्म पुग्ने प्रक्षेपण गरेको छ। कम्पनीका अध्यक्ष आरसी भार्गवका अनुसार साना कारको मागमा पुनरुत्थान र स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) को बढ्दो लोकप्रियताले बजार विस्तारमा महत्वपूर्ण भूमिका खेल्नेछ।
कम्पनीले आफ्नो पाँचवर्षे वृद्धि लक्ष्यसमेत पुनरावलोकन गरिरहेको जनाएको छ। पछिल्लो पाँच वर्षको तुलनामा आगामी वर्षहरूमा साना कारको बजार तीव्र गतिले विस्तार हुने अपेक्षा मारुतीको छ। कम्पनीले आफ्नो २०२५/२६ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।
मारुती सुजुकीले आर्थिक वर्ष २०२५/२६ मा २४ लाख २० हजार सवारीसाधन बिक्री गर्दै नयाँ कीर्तिमान कायम गरेको छ। यस अवधिमा कम्पनीको निर्यात पनि बढेर ४ लाख ४७ हजार युनिट पुगेको छ, जुन कम्पनीको अहिलेसम्मकै उच्च निर्यात हो। कम्पनीले अब अर्को १० लाख युनिट बिक्रीको माइलस्टोन यसअघि अनुमान गरिएको भन्दा चाँडै हासिल गर्ने अपेक्षा गरेको छ।
बढ्दो मागलाई सम्बोधन गर्न मारुतीले सन् २०३०–३१ सम्ममा वार्षिक उत्पादन क्षमता ३६ लाख ५० हजार सवारीसाधन पुर्याउने लक्ष्यसहित करिब ३५० अर्ब भारतीय रुपैयाँ (झन्डै ४ अर्ब अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको छ। कम्पनीले आर्थिक वर्ष २०२६/२७ मै उत्पादन क्षमता ५ लाख युनिट थप्ने प्रक्रिया पनि तीव्र बनाएको जनाएको छ।
एसयूभी बजारमा आफ्नो उपस्थिति थप बलियो बनाउन मारुतीले आगामी ५ देखि ६ वर्षभित्र सात नयाँ एसयूभी मोडल सार्वजनिक गर्ने योजना बनाएको कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत हिसाशी ताकेउचीले बताएका छन्।
त्यस्तै, कम्पनीले स्वच्छ ऊर्जातर्फ पनि लगानी बढाउने भएको छ। मारुतीको बोर्डले चारवटा बायोग्यास प्लान्ट स्थापना गर्न प्रारम्भिक रूपमा ५.६१ अर्ब भारतीय रुपैयाँ लगानी स्वीकृत गरेको छ। भार्गवका अनुसार बायोग्यासको प्रयोगले आयातित कम्प्रेस्ड नेचुरल ग्यास माथिको निर्भरता घटाउन तथा भारतको नेट जिरो लक्ष्य हासिल गर्न सहयोग पुर्याउन सक्छ।
भूराजनीतिक तनाव तथा आपूर्ति शृंखलामा देखिन सक्ने जोखिम न्यूनीकरण गर्न कम्पनीले स्थानीयकरण, वैकल्पिक स्रोत र आपूर्तिकर्ताको क्षमता विकासलाई प्राथमिकता दिने जनाएको छ।
मारुतीले आफ्नो मूल कम्पनी सुजुकी मोटर कर्पोरेसनसँगको सम्बन्ध पछिल्ला वर्षमा अझ नजिक र एकीकृत बन्दै गएको जनाएको छ। यस्तो सहकार्यले नयाँ सवारीसाधन विकासको समय घटाउनुका साथै उत्पादन लागत कम गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।