काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा उच्च गिरावट आएको छ । गत आर्थिक वर्ष २०८२–८३ मा निर्जीवन बीमकहरुले समग्रमा २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ मात्रै नाफा कमाएका छन् ।
यो नाफा आघिल्लो आर्थिक वर्ष २०८१–८२ को तुलनामा ३९.२९ प्रतिशत कम हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरुले ४ अर्ब ५२ करोड २७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बाढी–पहिरो तथा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको पूर्ण रूपमा रिकभरी हुन नसक्दा निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा दबाब बढेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु अवधिमा अधिकांश बीमा कम्पनीहरूको मुनाफा घटेको देखिएको छ ।
प्राकृतिक विपद्का कारण ठूलो मात्रामा दाबी भुक्तानी गर्नुपरेको तथा जेनजी आन्दोलनका क्रममा भएको क्षतिसमेत थपिँदा कम्पनीहरूको सञ्चालन खर्च र दायित्व बढेको हो । क्षतिको पूर्ण रिकभरी हुन नसक्दा यसको प्रत्यक्ष प्रभाव बीमा कम्पनीहरूको नाफामा परेको छ ।
बीमा कम्पनीहरूले दाबी व्यवस्थापन र क्षतिपूर्ति भुक्तानीमा ठूलो रकम खर्च गरिरहेका छने । यससँगै पुनर्बीमा तथा अन्य स्रोतबाट हुने रिकभरीमा ढिलाइ हुँदा कम्पनीहरूको वित्तीय अवस्थामा थप दबाब परेको देखिन्छ ।
यही कारण निर्जीवन बीमा क्षेत्रका कम्पनीहरूको मुनाफा निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । आगामी दिनमा क्षतिको रिकभरी प्रक्रिया कति प्रभावकारी हुन्छ भन्ने कुराले कम्पनीहरूको नाफा सुधारमा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
गत आवमा सबैभन्दा धेरै नाफा कमाउनेमा ओरियन्टल इन्स्योरेन्स रहेको छ । कम्पनीले गत आवमा ४९ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनी ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको थियो ।
सो अवधिसम्म प्रभु इन्स्योरेन्सको नाफा मात्रै अघिल्लो आवको तुलनामा बढेको छ । कम्पनीको नाफा २० प्रतिशतले बढेको छ । त्यस्तै, गत आवमा नेशनल इन्स्योरेन्स कम्पनी १३ करोड १० लाख रुपैयाँ घाटामा रहेको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।