काठमाण्डौ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने पर्याप्त आधार नदेखिएपछि मुख्यमन्त्री बानियाँले सोमबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन्।
बानियाँ २०८२ साउन २० गते मुख्यमन्त्री नियुक्त भएका थिए। तर, तत्कालीन सत्तासाझेदार नेकपा एमालेले साउन ६ गते सरकारबाट आफ्ना ६ मन्त्री फिर्ता बोलाउँदै समर्थनसमेत फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए।
संवैधानिक व्यवस्थाअनुसार अल्पमतमा परेको सरकारले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएकाले बानियाँले भदौ १ गते सोमबार दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका थिए। तर, आवश्यक संख्या जुटाउन नसक्ने अवस्था बनेपछि उनले मतदानको सामना गर्नुअघि नै राजीनामाको बाटो रोजेका हुन्।
१०४ सदस्यीय वाग्मती प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टीका दुई गरी बानियाँको पक्षमा ३८ सांसदको समर्थन मात्र देखिएको थियो। बहुमतका लागि थप १५ सांसदको समर्थन आवश्यक थियो।
मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिलाउन निर्णायक बन्न सक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने साथ नदिने निर्णय गरेको थियो। सोमबार बसेको राप्रपा वाग्मती प्रदेश संसदीय दलको बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनको निर्देशनअनुसार विश्वासको मतसम्बन्धी प्रस्तावमा तटस्थ बस्ने निर्णय गरेको हो। राप्रपाका वाग्मती प्रदेशसभामा १३ सांसद छन्।
राप्रपाको तटस्थ बस्ने निर्णयसँगै मुख्यमन्त्री बानियाँका लागि आवश्यक बहुमत जुटाउने सम्भावना थप कमजोर बनेको थियो। प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा रहेको सरकारसमेत बहुमत सुनिश्चित गर्न नसकेपछि बानियाँले राजीनामा घोषणा गरेका हुन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।