काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको पोसाक खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाएका छन्। उनले प्रहरी मुख्यालय नै निश्चित बिचौलियाको प्रभावमा परेको दाबीसमेत गरेका छन्।
बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरी पोसाक खरिदसम्बन्धी कागजात १५ दिनअघि नै मागिएको भए पनि अहिलेसम्म उपलब्ध नगराइएको भन्दै आपत्ति जनाए।
उनका अनुसार समितिले खरिद प्रक्रियामा भएको भनिएको अनियमितताबारे अध्ययन गर्न आवश्यक कागजात मागेको थियो। तर, ती कागजात उपलब्ध नगराउँदै फेरि करोडौँ रुपैयाँ बराबरको नयाँ टेन्डर आह्वान गरिएको भन्दै उनले प्रश्न उठाए।
सुनारले भने, “हामीले १५ दिनभित्र प्रहरीको पोसाक खरिदमा भएका बदमासीबारे कागजात मागेका थियौँ, तर आएको छैन। यहीबीच फेरि करोडौँको टेन्डर आह्वान गरिएको छ। निश्चित बिचौलियाले प्रहरी हेडक्वार्टर कब्जा गरेका छन्।”
उनले आफूले उठाएका विषय प्रमाणमा आधारित रहेको दाबी गर्दै अनियमितताको मुद्दामा कुनै सम्झौता नगर्ने बताए।
आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको लागे अदालत जानसमेत उनले चुनौती दिए। आफू अदालतमा उभिएर जवाफ दिन तयार रहेको सुनारको भनाइ थियो।
सांसद सुनारले संसदीय समितिको गरिमा कायम राख्नुपर्ने भन्दै सार्वजनिक लेखा समितिलाई आरोप–प्रत्यारोप र व्यक्तिगत जुवारीको थलो बनाउन नहुने बताए।
उनले सरकार वा कुनै निकायको बचाउका नाममा समितिको मर्यादा कमजोर पार्ने गतिविधि स्वीकार्य नहुनेसमेत टिप्पणी गरे।
प्रहरी पोसाक खरिदको विषयलाई लिएर सांसद सुनार र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच यसअघिको सार्वजनिक लेखा समिति बैठकमा पनि चर्काचर्की भएको थियो।
पोसाक खरिद प्रक्रियामा अनियमितता भएको सुनारको आरोपबारे सम्बन्धित निकायबाट विस्तृत आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।