सोमबार, भाद्र ८,२०८३ 11:01:26
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 11:01:26
Bizshala
Global IME Bank Limited

दुई दशकको प्रतीक्षा टुंगिँदैः ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना उत्पादनको संघारमा

दुई दशकको प्रतीक्षा टुंगिँदैः ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना उत्पादनको संघारमा
New Office

काठमाण्डौ । लामो समयदेखि निर्माणको उतारचढाव झेल्दै आएको म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना अब विद्युत् उत्पादनको अन्तिम तयारीमा पुगेको छ। भौतिक निर्माण र उपकरण जडानको काम सम्पन्न भएपछि आयोजनाका विभिन्न संरचनाको परीक्षण भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको एउटा २० मेगावाट क्षमताको उत्पादन युनिटको परीक्षण पूरा भइसकेको छ भने अर्को युनिटको परीक्षण पनि सुरु गरिएको छ।

आयोजनाको बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। दोस्रो युनिटको परीक्षण पूरा भएपछि करिब एक सातादेखि १० दिनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखिएको छ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं। ५ झिँको फेदी क्षेत्रमा बाँध निर्माण गरिएको छ। आयोजनाको ६ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ तथा पानी थिग्र्याउने संरचनाको परीक्षणसमेत पूरा भएको छ।

तिल्केनीचौरमा निर्माण गरिएको विद्युत्गृहमा उपकरण जडानपछि परीक्षण भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पठाउन विद्युत्गृह परिसरमा निर्माण गरिएको स्विचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आइसकेको छ।

आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुश्मा प्रसारण लाइनमा ‘लिलो’ प्रविधिमार्फत जोडिनेछ। यसका लागि आवश्यक चारवटा टावर र प्रसारण लाइन निर्माणसमेत सम्पन्न भइसकेको छ।

राहुघाटको निर्माण यात्रा भने सहज रहेन। आयोजनाको प्रारम्भिक ठेक्का भारतीय कम्पनी आइभिआरसिएलसँग भएको थियो। कम्पनीको कमजोर आर्थिक अवस्थाका कारण विसं २०७२ मा उक्त ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो।

Bizshala
CG Motors

त्यसपछि भारतीय सिभिल निर्माण कम्पनी जयप्रकाश एसोसियट्स (जेपी)ले आयोजनाको निर्माण जिम्मेवारी पायो। कम्पनीसँग २०७४ मङ्सिर ६ गते करिब रु। ६ अर्बमा ठेक्का सम्झौता भएको थियो। ४५ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले निर्माण अवधि पटक–पटक थपियो।

राहुघाट आयोजना नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानी तथा भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणमा अघि बढाइएको हो।

इलेक्ट्रोमेकानिकलतर्फ भारत हेभी इलेक्ट्रिकल्स लिमिटेडसँग करिब १०२.९३ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो। आयोजना इन्जिनियरिङ, प्रोक्योरमेन्ट तथा कन्ट्र्याक्ट अवधारणाअनुसार निर्माण गरिएको हो।

राहुघाटलाई म्याग्दीमा सरकारी लगानीमा अघि बढेको जलविद्युत् विकासको प्रारम्भिक र महत्वपूर्ण आयोजनाका रूपमा हेरिन्छ। म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठका अनुसार राहुघाट सुरु भएपछि जिल्लामा भित्रिएका करिब १० वटा जलविद्युत् आयोजना सम्पन्न भइसकेका छन्।

दुई दशक लामो प्रतीक्षापछि राहुघाट उत्पादनको संघारमा पुग्नु म्याग्दीको जलविद्युत् क्षेत्रका लागि प्रतीकात्मक उपलब्धि पनि हो। यसले जिल्लामा जलविद्युत् विकासका लागि आधार तयार गर्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय व्यवसायीहरूको बुझाइ छ।

आयोजनाले वार्षिक करिब २४ करोड ५ लाख ९३ हजार युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि यसले देशको विद्युत् आपूर्तिमा थप योगदान पुर्याउनेछ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.