काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउको बजार सुनिश्चित गर्न तत्काल विदेशबाट हुने स्याउ आयात रोक्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद शाहीले जुम्लालगायत हिमाली जिल्लाबाट स्याउ बजारमा आइसके पनि विदेशी स्याउको आयातका कारण नेपाली किसानले उत्पादनको उचित बजार पाउन नसकेको बताए।
उनले सभामुख, सांसद तथा देशभरका नागरिकलाई जुम्लाको स्याउ उपभोग गर्न आग्रह गर्दै नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
शाहीका अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालमा करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको थियो। त्यस्तै, गत वर्षको साउन महिनामा मात्रै करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको विदेशी स्याउ नेपाल भित्रिएको उनले बताए।
‘नेपाली स्याउले बजार पाउन सकेको छैन,’ भन्दै उनले प्रधानमन्त्री र कृषि मन्त्रीलाई संसदमार्फत आग्रह गर्दै कम्तीमा एक–दुई महिनाका लागि विदेशी स्याउको आयात रोक्न माग गरे।
जुम्लामा ठूलो परिमाणमा खेतीयोग्य जमिन भए पनि त्यसको न्यून हिस्सा मात्रै स्याउ खेतीमा प्रयोग भइरहेको उल्लेख गर्दै शाहीले उत्पादन विस्तार गर्न सके नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए। उनका अनुसार जुम्लामा रहेको करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ११ प्रतिशतमा मात्रै स्याउ खेती भइरहेको छ।
बाँकी जमिनलाई समेत उत्पादनमा ल्याउन सके नेपाली किसानले देशलाई अर्बौं रुपैयाँको आर्थिक योगदान दिन सक्ने उनको दाबी छ। उनले स्याउ खेती विस्तारका लागि राज्यले आवश्यक लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताए।
यसैगरी, कृषि क्षेत्रमा दिइँदै आएको अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको भन्दै शाहीले अनुदान प्रणालीमा सुधार गरी किसानको हातमा प्रत्यक्ष रूपमा पुग्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरे।
‘कृषि अनुदान ठूलाबडाका हातमा गएको छ,’ भन्दै उनले अनुदान प्रणाली संशोधन गर्ने भनिए पनि त्यसलाई छिटो कार्यान्वयन गरी वास्तविक किसानलाई लाभान्वित बनाउनुपर्ने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।