मंगलवार, भाद्र ९,२०८३ 09:00:12
Bizshala
  • मंगलवार, भाद्र ९,२०८३ 09:00:12
Bizshala
Global IME Bank Limited

अब म्युचुअल फन्डले दैनिक कारोबार लुकाउन नपाउने, बिक्री-खरिददेखि बाँकी इकाइसम्म सार्वजनिक गर्नुपर्ने

खुलामुखी योजनाको दैनिक हिसाब वेबसाइटमै राख्न धितोपत्र बोर्डको निर्देशन; एसआईपी, डीआरआईपी, एनएभी र इकाइधनीको संख्यासमेत खुलाउनुपर्ने

अब म्युचुअल फन्डले दैनिक कारोबार लुकाउन नपाउने, बिक्री-खरिददेखि बाँकी इकाइसम्म सार्वजनिक गर्नुपर्ने
New Office

काठमाडौं। म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापकहरूले अब खुलामुखी योजनाको दैनिक कारोबार तथा वास्तविक अवस्थासम्बन्धी विस्तृत विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्नुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण योजना व्यवस्थापक तथा डिपोजिटरीहरूलाई निर्देशन जारी गर्दै खुलामुखी योजनाको प्रत्येक दिन बिक्री भएको इकाइ, पुनर्खरिद भएको इकाइ, एसआईपी र डीआरआईपीमार्फत खरिद भएको इकाइको विवरण नियमित रूपमा वेबसाइटमा राख्न भनेको हो।

योजना व्यवस्थापकहरूले दिनको कारोबार समाप्त भएपछि कायम भएको प्रतिइकाइ खुद सम्पत्ति मूल्य अर्थात् ‘डे–इन्ड एनएभी’ पनि सार्वजनिक गर्नुपर्नेछ। यससँगै बिक्री वा निष्कासनका लागि बाँकी रहेका इकाइ, कुल इकाइ र इकाइधनीको संख्यासमेत लगानीकर्ताले वेबसाइटबाटै हेर्न पाउनेछन्।

धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी र विश्वसनीय बनाउने उद्देश्यले बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी यस्तो निर्देशन जारी गरेको हो।

Bizshala
CG Motors

खुलामुखी योजनाको वास्तविक अवस्था दैनिक देखिने

खुलामुखी म्युचुअल फन्डमा लगानीकर्ताले योजनाको अवधिभर निश्चित प्रक्रियाबाट इकाइ खरिद तथा पुनर्बिक्री गर्न सक्छन्। तर दैनिक रूपमा कति इकाइ बिक्री भयो, कति पुनर्खरिद भयो र कति इकाइ बाँकी छन् भन्ने अद्यावधिक विवरण सहज रूपमा उपलब्ध नहुँदा लगानीकर्ताले योजनाको वास्तविक अवस्था बुझ्न कठिन हुने गरेको छ।

बोर्डको निर्देशन कार्यान्वयन भएपछि खुलामुखी योजनामा भएको दैनिक रकम प्रवाह, इकाइको माग, पुनर्खरिदको अवस्था र लगानीकर्ताको सहभागिताबारे स्पष्ट चित्र देखिनेछ।

योजना व्यवस्थापकहरूले एसआईपी अर्थात् नियमित लगानी योजनामार्फत खरिद भएका इकाइ र डीआरआईपी अर्थात् लाभांश पुनर्लगानी योजनामार्फत थपिएका इकाइको विवरणसमेत छुट्टाछुट्टै सार्वजनिक गर्नुपर्नेछ।

यसले नियमित लगानीबाट योजनामा कति इकाइ थपिए तथा नगद लाभांश नलिएर पुनर्लगानी गर्ने लगानीकर्ताको हिस्सा कति रह्यो भन्ने जानकारी पनि पारदर्शी बनाउनेछ।

एनएभीमा थप पारदर्शिता

बोर्डले प्रत्येक कारोबार दिनको अन्त्यमा कायम भएको एनएभी वेबसाइटमा राख्न निर्देशन दिएसँगै लगानीकर्ताले आफ्नो इकाइको वास्तविक मूल्य नियमित रूपमा हेर्न पाउनेछन्।

एनएभीले म्युचुअल फन्डको कुल सम्पत्तिबाट दायित्व घटाएपछि प्रतिइकाइ कायम हुने मूल्य जनाउँछ। खुलामुखी योजनामा इकाइ खरिद तथा पुनर्खरिदको मूल्य निर्धारणमा यसको महत्त्वपूर्ण भूमिका हुन्छ।

दैनिक एनएभीसँगै बिक्री भएको इकाइ, पुनर्खरिद भएको इकाइ र बाँकी मौज्दात सार्वजनिक भएपछि योजनाको आकार र नगद प्रवाहबारे लगानीकर्ताले तुलनात्मक अध्ययन गर्न सक्नेछन्।

विवरण पुस्तिका परिपक्व नहुँदासम्म वेबसाइटमा

योजना व्यवस्थापकले आफूले सञ्चालन गरेका योजनाको बोर्डबाट स्वीकृत विवरण पुस्तिका पनि सम्बन्धित योजना परिपक्व नहुँदासम्म आफ्नो वेबसाइटमा राख्नुपर्नेछ।

यसबाट लगानीकर्ताले योजनाको उद्देश्य, लगानी नीति, जोखिम, शुल्क, प्रतिफल वितरण विधि र व्यवस्थापनसम्बन्धी स्वीकृत सर्त जुनसुकै बेला अध्ययन गर्न पाउनेछन्।

बोर्डको नयाँ निर्देशनले योजना व्यवस्थापकलाई म्युचुअल फन्डका इकाइ बिक्री गर्ने संस्थाका रूपमा मात्र नभई योजनाको दैनिक अवस्था र गतिविधिप्रति सार्वजनिक रूपमा जवाफदेही बनाउन खोजेको देखिन्छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.