काठमाण्डौ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपास आइपुगेपछि तटीय क्षेत्रमा जोखिम थप बढेको छ। सम्भावित क्षतिलाई मध्यनजर गर्दै त्रिशूली किनारका बस्ती तथा बजार क्षेत्र खाली गरी सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान १०ः२८ बजे जारी गरेको पछिल्लो अपडेटअनुसार भोटेकोसीबाट आएको बाढीको बहाव गल्छी आसपास पुगिसकेको छ। उक्त बाढी अबको केही घण्टाभित्र मुग्लिन क्षेत्र पार गर्ने अनुमान गरिएको छ।
बाढीको बहाव तीव्र गतिमा तलतिर बढिरहेका कारण पृथ्वी राजमार्ग तथा मुग्लिन–नारायणगढ राजमार्ग आसपासका नदी किनार क्षेत्रसमेत जोखिममा परेका छन्। महाशाखाले विशेषगरी त्रिशूली नदी छेउछाउका बस्ती, बजार तथा जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई तत्काल सतर्कता अपनाउन भनेको छ।
महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित तथा उच्च स्थानमा सर्न अनुरोध गरेको छ।
‘त्रिशूली नदी छेउछाउका बस्ती र बजार क्षेत्र खाली गरी उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहनुहोस्,’ महाशाखाले भनेको छ।
बाढीको बहाव मुग्लिनतर्फ अघि बढिरहेकाले नदी आसपासका सडक, पुल, बस्ती तथा बजार क्षेत्रमा आवतजावत गर्दा समेत विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।