काठमाण्डौ । रसुवाको सीमा क्षेत्रबाट सुरु भएको भीषण बाढी नुवाकोटसम्म आइपुग्दा तटीय क्षेत्रका बस्ती र बजारमा व्यापक क्षति पुगेको छ। बाढीले बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट आसपासका क्षेत्रलाई बढी प्रभावित बनाएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवा सीमादेखि तलतर्फ आएको बाढीको ठूलो बहाव बजार क्षेत्रभित्र प्रवेश गरेपछि घर, सडक तथा अन्य भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
विशेषगरी बेत्रावतीदेखि देवीघाटसम्मका त्रिशूली नदी तटीय क्षेत्र बाढीबाट प्रभावित भएका छन्।
‘बेत्रावती बजारदेखि तल देवीघाटसम्मका तटीय क्षेत्रमा क्षति पुगेको खबर आएको छ,’ प्रजिअ रेग्मीले बताएका छन्, ‘त्रिशूली बजार, ढुङ्गे, बेत्रावती र देवीघाट क्षेत्रमा भौतिक संरचनामा नोक्सानी पुगेको सुरक्षाकर्मीले रिपोर्ट गरेका छन्।’
बाढी बजार क्षेत्रभित्रै प्रवेश गरेका कारण क्षतिको परिमाण ठूलो हुनसक्ने प्रशासनको आकलन छ। यद्यपि क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ।
हालसम्म नुवाकोटमा मानवीय क्षतिको आधिकारिक पुष्टि भने भएको छैन। बाढीको अवस्था भयावह रहेकाले सम्भावित मानवीय क्षतिबारे समेत तत्काल यकिन गर्न नसकिने अवस्था रहेको प्रशासनले जनाएको छ।
प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी अवस्था निगरानीसँगै क्षतिको विवरण संकलन भइरहेको छ। घर, पसल तथा अन्य भौतिक संरचनामा पुगेको क्षतिको यकिन विवरण भने आउन बाँकी छ।
प्रशासनले त्रिशूली नदी तथा आसपासका तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन, नदी किनारमा नजान र जोखिम देखिए तत्काल सुरक्षित तथा अग्लो स्थानमा सर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।