काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे बजार तहसनहस पारेपछि करिब २०० जना स्थानीय डाँडामा पुगेर उद्धारको पर्खाइमा बसेका छन्।
गोसाइँकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बुधबार बिहान अचानक ठूलो आवाजसहित आएको बाढीले केही क्षणमै टिमुरे बजारमा विनाश मच्चाएको हो।
उनका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाज सुनिएलगत्तै बाढी बजारमा पसेको थियो। स्थानीयले सोच्ने र सामान जोगाउने समयसमेत नपाई भागेर ज्यान बचाएका थिए।
‘ठूलो आवाजसँगै बाढी आयो। हामीले केही सोच्न पनि नपाउँदै सबै तहसनहस भयो,’ घलेले बताएका छन्, ‘टिमुरे बजारमा केही बाँकी छैन जस्तो अवस्था छ। कति घर बगे, कति मानिस हराए भन्ने पनि अहिले थाहा छैन।’
उनका अनुसार टिमुरे बजारमा सयभन्दा बढी घर थिए। बाढीको तीव्रता हेर्दा ठूलो संख्यामा घर तथा अन्य संरचना बगेको आशंका गरिएको छ।
बाढीबाट ज्यान जोगाउन सफल स्थानीयहरू अहिले माथिल्लो डाँडामा जम्मा भएर बसेका छन्। तर उनीहरूसँग खानेकुरा, सुरक्षित पिउने पानी तथा बालबालिकाका लागि आवश्यक सामग्रीसमेत नभएको घलेले बताएका छन्।
‘जो जस्तो अवस्थामा थियौं, भागाभाग गरेर डाँडामा आइपुगेका छौं,’ उनले भने, ‘साना केटाकेटीलाई के खुवाउने, कसरी जोगाउने भन्ने समस्या छ। केही छैन। बगेको पानी खाएर बस्नुपरेको छ।’
उनका अनुसार प्रभावित क्षेत्रमा हेलिकप्टरहरू देखिए पनि डाँडामा आश्रय लिइरहेका नागरिकसम्म उद्धार टोली पुग्न सकेको छैन।
‘हामी उद्धारको पर्खाइमा छौं। माथि हेलिकप्टर घुमिरहेका छन्, तर हामीसम्म आइपुगेका छैनन्,’ घलेले भने, ‘सरकारी निकायले हामीसँग सम्पर्क गरेर जतिसक्दो छिटो उद्धार गरिदिए ठूलो राहत हुने थियो।’
तिब्बततर्फबाट आएको बाढी भोटेकोशी हुँदै रसुवा र नुवाकोटतर्फ फैलिँदा तटीय बस्तीमा ठूलो क्षति पुगेको छ। टिमुरे क्षेत्रको वास्तविक मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।