काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएको भनिएका माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्ति सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।
नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ए आयोजनाको सुरुङ पुनर्निर्माण तथा विद्युत्गृह क्षेत्रमा काम गरिरहेका कर्मचारीमध्ये केहीसँग सम्पर्क स्थापित भएपछि त्यहाँ ठूलो संख्यामा मानिस सुरक्षित रूपमा एकत्रित भएर बसेको खुलेको हो।
दोलखाका पत्रकार दिलबहादुर केसीका अनुसार गौरीशंकर गाउँपालिका–खारेका अर्जुन श्रेष्ठसँग सम्पर्क भएपछि आयोजनास्थलमा रहेका कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त भएको हो।
श्रेष्ठका अनुसार अर्जुन श्रेष्ठ, नारायणबहादुर श्रेष्ठ, जिता मगर, किसान मगर, शर्मिला श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, गणेश विश्वकर्मा, दोर्जी शेर्पा, गिरिमे मगर र राजन तामाङलगायत सुरक्षित अवस्थामा छन्।
त्यहाँ दोलखाका करिब २२ देखि २४ जनासहित झन्डै २०० जना सुरक्षित अवस्थामा रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सुरक्षित रहे पनि बाहिर निस्कन र उद्धार हुन भने सम्बन्धित निकायको सहयोग आवश्यक रहेको बताइएको छ।
बाढीपछि सडक तथा अन्य पहुँचमार्ग अवरुद्ध हुँदा उनीहरू आयोजनास्थलमै रोकिएका छन्। त्यसैले सुरक्षित स्थानमा रहेका उनीहरूको उद्धारका लागि स्थानीय प्रशासन, नेपाल विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसम्बन्धी निकायबीच समन्वय भइरहेको छ।
यसअघि दुई दर्जन कर्मचारीको अवस्था अज्ञात भनिएको थियो
यसअघि बाढीपछि माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनाको भूमिगत विद्युत्गृहमा टर्बाइन ओभरहाउलिङ तथा मर्मतसम्भारमा खटिएका करिब दुई दर्जन कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी सार्वजनिक भएको थियो।
नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले ती कर्मचारीको अवस्था तत्काल यकिन हुन नसकेको बताएका थिए।
पछि केही कर्मचारीसँग सम्पर्क स्थापित भएपछि उनीहरू सुरक्षित रहेको जानकारी आएको हो। यद्यपि आयोजनास्थलमा रहेका सबै व्यक्तिको नाम, संख्या र अवस्थाबारे औपचारिक विवरण आउन बाँकी छ।
हेलिकप्टरबाट उद्धारको प्रयास
बाढी प्रभावित क्षेत्रमा स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकप्टरमार्फत उद्धारको प्रयास भइरहेको छ। आयोजनास्थल तथा आसपासमा फसेकाहरूलाई सुरक्षित स्थानमा ल्याउन आवश्यक समन्वय भइरहेको सम्बन्धित निकायहरूले जनाएका छन्।
प्रभावित क्षेत्रमा रहेका व्यक्तिका आफन्त तथा परिचितलाई उपलब्ध सञ्चार माध्यमबाट सम्पर्क कायम राख्न र प्राप्त सूचना स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको बाढीले जलविद्युत् आयोजना, सडक, पुल तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुर्याएको छ। प्रभावित आयोजनाका कर्मचारी तथा स्थानीयको खोज, सम्पर्क स्थापना र उद्धार कार्य जारी छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।