काठमाण्डौ । रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट मुस्किलले ज्यान जोगाएका एक घाइतेले समयमा उद्धार हुन नसकेपछि आफ्नै खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौं आउनुपरेको बताएका छन्।
बाढीमा घाइते भएका ५३ वर्षीय तुल्सीबहादुर भण्डारी अहिले वीर अस्पतालको इमर्जेन्सी कक्षमा उपचाररत छन्। उनको कानमा चोट लागेको छ।
टिमुरेमा व्यापार गर्दै आएका भण्डारीका अनुसार बुधबार बिहान करिब साढे ८ बजे उनी काममा निस्कने तयारीमा थिए। त्यही बेला पहाडबाट ठूला चट्टान खस्न थाले र कालो मुस्लोसहित धुलो उड्यो।
सुरुमा आफूलाई भूकम्प आएको जस्तो लागेको उनले बताएका छन्। केही समयमै लेदोसहितको ठूलो बाढी र छालले गाडीसमेत बगाउँदै ल्याएपछि अवस्था भयावह बनेको थियो।
भाग्ने क्रममा बाढीको ठूलो छालले पछाडिबाट हुत्याएर फाले पनि आफू संयोगले जोगिएको भण्डारीले बताए।
उनका अनुसार बाढीबाट बचेर माथिल्लो डाँडामा पुगेपछि उनले चार–पाँचवटा शव देखेका थिए। ठूलो संख्यामा मानिस बेपत्ता भएको हुनसक्ने आशंका पनि उनले व्यक्त गरेका छन्। यद्यपि यसको आधिकारिक पुष्टि भएको छैन।
‘रातभर डाँडामा चाउचाउको भर’
भण्डारीले विपद्पछि राज्यबाट अपेक्षित गतिमा उद्धार हुन नसकेको गुनासो गरेका छन्।
घटनापछि नेपाली सेना पुगे पनि कठिन भूगोल, खराब अवस्था र रात परिसकेका कारण पर्याप्त उद्धार हुन नसकेको उनको भनाइ छ।
“डाँडामा रातभर भोकै बस्यौं, चाउचाउको भरमा रात काट्यौं,” उनले भनेका छन्, “अन्ततः आफ्नै निजी खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौं आउनुपर्यो।”
उनले बाढी प्रभावित क्षेत्रमा पर्याप्त हेलिकप्टर परिचालन गरी तत्काल उद्धार गर्नुपर्ने अवस्थामा अपेक्षित गति नदेखिएको गुनासो गरेका छन्।
भण्डारीले घाइतेको हेलिकप्टर उद्धारदेखि उपचारसम्मको सम्पूर्ण खर्च सरकारले व्यहोर्नुपर्ने मागसमेत गरेका छन्। साथै, बाढी तथा पहिरोमा पुरिएका, बेपत्ता भएका तथा विभिन्न स्थानमा अलपत्र परेका नागरिकको खोज तथा उद्धारलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।
वीरमा आएका अधिकांश घाइतेको अवस्था सामान्य
वीर अस्पतालका निर्देशक डा. विकास नेपालका अनुसार बाढीपछि विभिन्न कारणले घाइते भएर अस्पताल पुर्याइएकामध्ये अधिकांशको अवस्था सामान्य छ।
वीर अस्पतालमा भर्ना गरिएका ६ जनामध्ये तीन जना सामान्य उपचारपछि घर फर्किसकेका छन्।
आँखामा चोट लागेका एक बिरामीलाई थप उपचारका लागि तिलगंगा आँखा अस्पताल पठाइएको छ।
डा. नेपालका अनुसार अस्पताल आइपुगेका अधिकांशमा प्रत्यक्ष बाढीको चोटभन्दा पनि विपद्को समयमा भागदौड गर्दा लागेको सामान्य चोटपटक बढी देखिएको छ।
भोटेकोशी बाढीपछि सडक र पुलमा ठूलो क्षति पुगेको तथा विभिन्न क्षेत्रको स्थलमार्ग अवरुद्ध भएका कारण गम्भीर घाइतेको उद्धारमा हेलिकप्टर प्रमुख विकल्प बनेको छ। यस्तो अवस्थामा एक घाइतेले निजी खर्चमै हेलिकप्टरको व्यवस्था गर्नुपरेको बताएपछि सरकारी उद्धार व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।