काठमाण्डौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बेपत्ता आफन्त खोज्ने परिवारको भीड लागेको छ।
बाढीमा परेर घाइते भएका, बेपत्ता बनेका तथा ज्यान गुमाएका नागरिकका परिवार र आफन्त आफ्ना प्रियजनको अवस्थाबारे जानकारी पाउने आशामा अस्पताल पुगिरहेका छन्।
अस्पताल परिसरमा अहिले निकै पीडादायी दृश्य देखिएको छ। कतिपय परिवारले बेपत्ता आफन्तको तस्बिर अस्पतालको भित्तामा टाँसेर खोजीमा सहयोग गरिदिन आग्रह गरेका छन्। अस्पतालमा आउने बिरामी वा शवमध्ये आफ्ना परिवारका सदस्य भेटिन्छन् कि भन्ने आशामा आफन्तहरू निरन्तर प्रतीक्षा गरिरहेका छन्।
अस्पतालमा हाल बाढीबाट घाइते भएका ३७ जनाको उपचार भइरहेको जनाइएको छ। बाढीमा ज्यान गुमाएका केही व्यक्तिका शवसमेत अस्पतालको शवगृहमा राखिएका छन्।
बाढीपछि विभिन्न स्थानबाट घाइतेलाई काठमाडौं ल्याउने क्रम जारी रहँदा अस्पतालमा आफन्तको चाप बढेको छ। कसैले घाइतेको सूची हेरिरहेका छन् भने कसैले शवगृह र अस्पतालका विभिन्न कक्षमा पुगेर बेपत्ता परिवारजनबारे सोधखोज गरिरहेका छन्।
रसुवा र नुवाकोटसहित त्रिशूली नदी तटीय क्षेत्रमा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन तथा बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य जारी छ।
सुरक्षा निकायले प्रभावित क्षेत्र तथा नदी किनारमा खोज तथा उद्धार अभियान चलाइरहेका छन्। विभिन्न जिल्लामा शव फेला पर्ने क्रमसमेत जारी छ।
बाढीको त्रासदीबीच त्रिवि शिक्षण अस्पताल अहिले घाइतेको उपचार केन्द्र मात्र नभई बेपत्ता आफन्तको खबर पर्खिरहेका परिवारका लागि आशा र पीडाको केन्द्र बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।