काठमाडौं। रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि मानवीय क्षतिको आँकडा भयावह बन्दै गएको छ। बाढीमा बेपत्ता भएकाहरूको खोजी जारी रहँदा शनिबार बिहानसम्म विभिन्न जिल्लामा ६१६ जनाको शव फेला परेको छ। भारत सरकारले आफ्ना ३२० नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म रसुवादेखि नवलपरासीसम्मका विभिन्न स्थानबाट ती शव बरामद भएका हुन्। बाढीमा परेर बेपत्ता भएकाहरू त्रिशूली र नारायणी नदीको बहावसँगै तल्लो तटीय क्षेत्रसम्म पुगेको आशंकामा खोजीको दायरा विस्तार गरिएको छ।
प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा २३३ शव फेला परेका छन्। नवलपरासी पूर्वमा १५८, गोरखामा ४८, नवलपरासी पश्चिममा ४७, धादिङमा ४५, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ शव बरामद भएका छन्।
हालसम्म विभिन्न प्रभावित क्षेत्रबाट २ हजार ३०१ जनाको सुरक्षित उद्धार गरिएको छ। रसुवाबाट ६७६, नुवाकोटबाट एक हजार ६२२ र धादिङबाट तीन जनाको उद्धार भएको प्रहरीले जनाएको छ।
३२० भारतीय अझै सम्पर्कविहीन
भारतीय विदेश मन्त्रालयले शुक्रबार राति १० बजेसम्मको विवरण सार्वजनिक गर्दै भोटेकोशी बाढीपछि ३२० भारतीय नागरिक बेपत्ता रहेको जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म ८४ भारतीय नागरिकको सुरक्षित उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये तमिलनाडुका २१ नागरिक शुक्रबार स्वदेश फर्किएका छन्। त्रिशूली–वन परियोजनामा कार्यरत अन्य ६३ भारतीय कामदारको पनि सुरक्षित उद्धार भइसकेको छ।
यसैगरी, चीनबाट १४९ भारतीय नागरिक सुरक्षित रूपमा नेपाल आइपुगेका छन्। करिब ४०० भारतीय नागरिक अझै चीनमा सुरक्षित अवस्थामा रहेको र उनीहरूलाई फिर्ता ल्याउने प्रयास भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।
नेपालस्थित भारतीय दूतावास आफ्ना नागरिकसँग निरन्तर सम्पर्कमा रहेको मन्त्रालयको भनाइ छ।
भारतबाट सुरुङ उद्धार टोली
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन भारतले चिकित्सक, प्यारामेडिक्स तथा सुरुङ उद्धार विज्ञसहितको ११ सदस्यीय टोली नेपाल पठाएको छ।
भारतका विदेशमन्त्री एस जयशंकरका अनुसार टोली काठमाडौं आइपुगेको छ र शनिबारदेखि ‘रेकी अपरेसन’ सुरु गर्ने तयारी छ। टोलीले विशेषगरी सुरुङ तथा पहुँच कठिन भएका क्षेत्रमा फसेकाहरूको खोजी र उद्धारमा सहयोग गर्नेछ।
भारतले उद्धार टोलीसँगै राहत सामग्रीको तेस्रो खेप पनि नेपाललाई हस्तान्तरण गरेको छ। पोर्टेबल जेनेरेटर सेट, खाद्यान्नका प्याकेट, डिग्निटी किट र पानी शुद्धीकरण गर्ने ट्याब्लेटलगायत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ग्रहण गरेका छन्।
गुगलको होमपेजमै नेपालका लागि बाढी सूचना
विपद्को जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालका लागि आपत्कालीन सूचना सेवा सुरु गरेको छ। गुगलको होमपेजमा ‘नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एन्ड अपडेट्स’ शीर्षकको छुट्टै लिंक राखिएको छ।
उक्त सेवाबाट बाढीको पछिल्लो अवस्था, सम्भावित जोखिम क्षेत्र, प्रभावित स्थान देखाउने नक्सा तथा सम्बन्धित समाचार हेर्न सकिनेछ। यसमा गुगलको ‘फ्लड अलर्ट’ सुविधा पनि समावेश गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग र बाढी पूर्वानुमान महाशाखाबाट जारी हुने सूचना तथा चेतावनीलाई गुगल सर्च र गुगल म्याप्समार्फत प्रयोगकर्तासम्म पुर्याउने व्यवस्था गरिएको छ। यसले जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानतर्फ जान र सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भोटेकोशी विपत्तिपछि एकातिर बेपत्ताको खोजी, शव पहिचान र उद्धारको चुनौती चुलिएको छ भने अर्कोतिर विदेशी नागरिकको अवस्था पत्ता लगाउन कूटनीतिक तथा प्राविधिक संयन्त्रसमेत परिचालन गर्नुपर्ने अवस्था आएको छ। स्वदेशी सुरक्षा निकायसँगै मित्रराष्ट्रका विशेषज्ञ टोली र प्रविधि कम्पनीसमेत जोडिएपछि खोज, उद्धार र जोखिम सूचना प्रवाहको अभियान थप व्यापक बनेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।