काठमाण्डौ। भोटेकोशी बाढी र त्यसपछिको राष्ट्रिय शोक तथा असहज परिस्थितिले केही दिन सुस्ताएको नाडा अटो शो पुनः लयमा फर्किएको छ। भृकुटीमण्डपमा जारी १८औँ संस्करणको अटो शोमा शनिबार मात्रै करिब ३५ हजार अवलोकनकर्ता पुगेका छन्।
मंगलबार सुरु भएको अटो शोको पहिलो दिन करिब ३० हजार जनाले अवलोकन गरेका थिए। तर, बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी र त्यसबाट सिर्जित परिस्थितिका कारण त्यसपछिका दिनमा अवलोकनकर्ताको चहलपहल घटेको थियो।
शुक्रबारदेखि संख्या पुनः बढ्न थालेको र शनिबार उल्लेख्य भीड देखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ।
सार्वजनिक बिदा परेकाले शनिबार बिहानैदेखि भृकुटीमण्डपमा अवलोकनकर्ताको बाक्लो उपस्थिति थियो। नयाँ सवारी खरिद गर्ने योजनामा रहेका ग्राहकको विशेष चाप विद्युतीय कार, मोटरसाइकल र स्कुटरका स्टलमा देखिएको थियो।
अटोमोबाइल व्यवसाय लामो समयदेखि सुस्ताइरहेका बेला शनिबारको उपस्थितिले बजारमा नयाँ सवारीप्रतिको ग्राहक आकर्षण अझै बलियो रहेको संकेत गरेको व्यवसायीहरूको भनाइ छ। कम्पनीहरूले घोषणा गरेका नगद छुट, बुकिङ योजना, सवारी साटफेर सुविधा तथा बैंकिङ कर्जाका स्किमले पनि अटो शोमै खरिद निर्णय गर्ने वातावरण बनाएको छ।
विशेषगरी ३० लाखदेखि ५० लाख रुपैयाँ मूल्य समूहका कार तथा नयाँ मोटरसाइकल र स्कुटरबारे जानकारी लिन र बुकिङ गर्न चाहने ग्राहकको चासो बढी देखिएको छ।
दुई दर्जन नयाँ मोडल, आधा दर्जन नयाँ ब्रान्ड
यस वर्षको नाडा अटो शोमा करिब दुई दर्जन नयाँ मोडल सार्वजनिक भएका छन्। अटो शोमार्फत आधा दर्जन हाराहारी नयाँ अटोमोबाइल ब्रान्डले नेपाली बजारमा प्रवेश गरेका छन्। नयाँ मोडल र ब्रान्डको यही बाक्लो उपस्थितिले समेत अवलोकनकर्ताको आकर्षण बढाएको छ।
चारपाङ्ग्रे सवारीतर्फ विद्युतीय गाडी मुख्य आकर्षण बनेका छन्। नामी भिगो, नामी बक्स, नयाँ नेक्सन, पन्च ईभी, बीवाईडी एटो–२, जेको जे–फाइभ, चेरी क्यू, एक्सियन, आर्कफक्स टी–वान, ओरा फाइभ, लीपमोटर बी–०३ र प्रोटोन इमास फाइभलगायत नयाँ मोडलका स्टलमा बाक्लो भीड देखिएको छ।
ईभीको दबदबाबीच पेट्रोल गाडीप्रतिको चासो पनि कायमै छ। नयाँ सुजुकी ब्रेजा, जिम्नी र अल न्यू हुन्डाई भेन्यूलगायत पेट्रोल गाडीका स्टलमा ग्राहकले मूल्य, विशेषता र खरिद योजनाबारे जानकारी लिइरहेका छन्।
हाइब्रिड सवारीतर्फ बीएआईसी बीजे३०ई, एमहिरो वान र बीवाईडी शार्कले अवलोकनकर्ताको ध्यान तानेका छन्।
दुईपाङ्ग्रेमा नेपालमै उत्पादन भएको यात्री पीसँगै यामाहा एक्सएसआर–१५५, आर–१५, फासिनो, अप्रिलिया एसआर–१७६ र एक्सट्रीम २५० आरलगायत नयाँ मोडलप्रति उच्च चासो देखिएको आयोजकले जनाएको छ।
यसपटकको अटो शोमा २३ वटा प्यासेन्जर कार, १७ वटा हलुका व्यावसायिक सवारी र १३ वटा दुईपाङ्ग्रे गरी ५३ सवारी ब्रान्ड सहभागी छन्। अटो पार्टपुर्जा, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, एसेसरिज, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसमेत गरी दुई सयभन्दा बढी स्टल राखिएका छन्।
भदौ १४ गतेसम्म सञ्चालन हुने अटो शोको अन्तिम दिन अवलोकनकर्ता र सवारी बुकिङ दुवै अझै बढ्ने आयोजकको अपेक्षा छ। शनिबार देखिएको भीडले विपत्तिबाट केही दिन प्रभावित बनेको अटो शोमात्र होइन, सुस्ताएको नेपाली अटोमोबाइल बजारसमेत पुनः चलायमान हुने आशा जगाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।