Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:23:00
Bizshala
Global IME Bank Limited

सुरुङ उद्धारमा विदेशी विज्ञता आवश्यक परे तत्काल लिनुपर्छ : गगन थापा

‘स्वदेशी क्षमताले मात्र नपुग्ने अवस्था भए सहयोग माग्न हिचकिचाउनु हुँदैन’, स्थानीय तहसँग समन्वय बढाउन सरकारलाई सुझाव

सुरुङ उद्धारमा विदेशी विज्ञता आवश्यक परे तत्काल लिनुपर्छ : गगन थापा
New Office

 

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाढीपछि सुरुङ क्षेत्रमा जारी उद्धार कार्यमा स्वदेशी जनशक्ति र प्रविधिले मात्र नपुग्ने अवस्था देखिए विदेशी मुलुकको विशेषज्ञ सहयोग लिन सरकार हिचकिचाउन नहुने बताएका छन्।

ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आइतबार आयोजित पदाधिकारी, केन्द्रीय सदस्य तथा सरोकारवालाबीचको छलफलमा थापाले सुरुङ उद्धार अत्यन्त जटिल बनेकाले आवश्यक परे तत्काल बाह्य विशेषज्ञता परिचालन गर्नुपर्ने बताएका हुन्।

उनले आफूले यस विषयमा परराष्ट्रमन्त्रीसँग समेत सम्पर्क गरी आवश्यक विदेशी सहयोग जुटाउन आग्रह गरेको जानकारी दिए।

‘हामीसँग उपलब्ध विज्ञताले मात्रै सुरुङभित्रको उद्धार सम्भव नहुने अवस्था भए छिमेकी वा अन्य मुलुकबाट सहयोग लिनुपर्छ,’ थापाको भनाइ थियो।

उनले विपद्का बेला अन्तर्राष्ट्रिय सहयोग लिनु अस्वाभाविक नभएको भन्दै प्राथमिकता मानव जीवनको रक्षा हुनुपर्ने बताए।

Bizshala
CG Motors

सरकारलाई सहयोग पनि, कमजोरीमा ध्यानाकर्षण पनि

कांग्रेसले बाढीपहिरो र डुबानका कारण उत्पन्न राष्ट्रिय विपत्तिमा सरकारलाई पूर्ण सहयोग गर्ने निर्णय गरेको छ।

थापाले विपद्को समयमा सरकारलाई साथ दिनु प्रमुख प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै उद्धार तथा राहतमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना मात्र नभई प्रभावकारी कामका लागि सहयोग भएको बताए।

उनले उद्धार, राहत वितरण तथा प्रभावित क्षेत्रको व्यवस्थापनमा देखिएका ‘ग्याप’ पहिचान गरी तत्काल सुधार गर्नुपर्नेमा जोड दिए।

‘स्थानीय सरकारलाई बाइपास गरेर विपद् व्यवस्थापन हुँदैन’

थापाले विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका निर्णायक हुने भन्दै संघीय सरकारले स्थानीय तहसँग बलियो समन्वय गर्नुपर्ने बताए।

स्थानीय जनप्रतिनिधि र संयन्त्रलाई बेवास्ता गरेर राहत तथा उद्धार प्रभावकारी बनाउन नसकिने उनको भनाइ छ।

प्रभावित परिवारको वास्तविक अवस्था, तत्काल आवश्यक सामग्री र जोखिमयुक्त क्षेत्रबारे सबैभन्दा छिटो जानकारी स्थानीय तहसँग हुने भएकाले त्यसको भरपूर उपयोग गर्नुपर्ने उनले बताए।

उत्सवभन्दा उद्धार र राहतमा केन्द्रित हुन निर्देशन

देश ठूलो मानवीय संकट र शोकमा रहेको भन्दै थापाले कांग्रेसका कुनै पनि तहलाई भड्किला सार्वजनिक कार्यक्रम तथा उत्सव नगर्न निर्देशन दिएका छन्।

हरितालिका तीजलगायतका पर्व सामान्य रूपमा मनाउन सकिने भए पनि विपद्को समयमा सार्वजनिक उत्सव र तडकभडकयुक्त कार्यक्रम नगर्न उनले आग्रह गरे।

अब पार्टीको सम्पूर्ण ध्यान उद्धार, राहत संकलन, वितरण र प्रभावित समुदायको सहयोगमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

सभापति थापा नेतृत्वको विपद् व्यवस्थापन टोली सोमबारदेखि प्रभावित क्षेत्रको स्थलगत अवलोकन र राहत समन्वयका लागि जाने भएको छ।

फिल्डबाट प्राप्त वास्तविक अवस्थाका आधारमा सरकारलाई थप सुझाव दिने र आवश्यक सुधारका लागि दबाब बढाइने थापाले बताएका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.